पोखरा , २१ जेठ २०८३।
तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीस्थित पृथ्वीराजमार्गको सडकमा आज बिहान एम्बुलेन्स र मिनी ट्रक ठोक्किदा सात जना घाइते भएका छन्।
पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ५६५९ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लु.प्र.०१–००१ झ ००४६ नम्बरको एम्बुलेन्स आज बिहान करिब ६:२० बजे ठोक्किदा सात जना घाइते भएका हुन् । रोल्पाको थवाङ प्राथमिक स्वास्थ्य संस्थाद्वारा सञ्चालित एम्बुलेन्समा रहेका ६ जना र ट्रक ड्राइभरसहित सात जना घाइते भएकोमा एक जनाको अवस्था गम्भीर रहेको छ।
दुर्घटनामा एम्बुलेन्स चालक रोल्पाको थवाङ गाउँपालिका–२ बस्ने २४ वर्षीय कुशल परियार, सोही ठाउँ बस्ने ६१ वर्षीया जुनराखी बुढा मगर, २५ वर्षीया अन्जना बुढा मगर, तीन वर्षीय युवान बुढा मगर, पूर्वी रुकुम भुमे गाउँपालिका–७ बस्ने ३६ वर्षीया चिजामाया घर्ती, रोल्पाको थवाङ गाउँपालिका–२ बस्ने ६० वर्षीया धनप्रसाद बुढा मगर घाइते भएका छन् । घाइतेमध्ये २५ वर्षीया अन्जना बुढा मगरको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक कार्कीले बताए ।
यस्तै मिनी ट्रक चालक तनहुँको म्याग्दे गाउँपालिका–२ बस्ने ३८ वर्षीय महेन्द्र रानाभाट समेत घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि जि.पि. कोईराला राष्ट्रिय स्वास प्रश्वास उपचार केन्द्र लगिएको छ।