पोखरा, २१ जेठ २०८३।
२०७१ साल फागुन ५ गते शिवरात्रिको रात पोखराको तुलसीघाटस्थित राम मन्दिर नजिक मृत फेला परेका २५ वर्षीय सूर्यबहादुर पाण्डे हत्या प्रकरणमा ११ वर्षपछि सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलाशले मुख्य अभियुक्त रामचन्द्र मानन्धरलाई १२ वर्ष कैद सजाय सदर गरेको छ। साथै, यसअघि जिल्ला र उच्च अदालतबाट सफाइ पाएका बुद्ध श्रेष्ठ र ध्रुव मानन्धरलाई घटनास्थलमा उपस्थित रहेको ठहर गर्दै तत्कालीन मुलुकी ऐनअनुसार ६–६ महिना कैद सजाय सुनाएको छ।
सूर्यबहादुर शिवरात्रि मेला हेर्न घरबाट निस्किएका थिए। भोलिपल्ट बिहान उनको शव रगताम्मे अवस्थामा भेटिएको थियो। अनुसन्धानका क्रममा आरोपितहरूबीच विवाद भएको, घटनाको रात उनीहरू सँगै रहेको तथा विभिन्न परिस्थितिजन्य प्रमाणले संलग्नता देखाएको अदालतले ठहर गरेको छ।
साक्षी र आरोपितको बयान
घटनाको अनुसन्धानका क्रममा ‘बाहुनी आन्टी’ भनिने लक्ष्मीदेवी ढकालले दिएको बयानले घटनाको महत्त्वपूर्ण पाटो उजागर गरेको थियो। उनको बयानअनुसार, घटनाको रात आरोपितहरू र सूर्यबहादुर सँगै मदिरा सेवन गरेर बसेका थिए। राति साढे १ बजेतिर सूर्यबहादुर फोनमा कुरा गर्दै बाहिर निस्किएको र त्यसको केही मिनेटपछि रामचन्द्र मानन्धर पनि केही नबोली निस्किएको उनले बताएकी थिइन्। निस्किएको करिब एक घण्टापछि मानन्धर हस्याङफस्याङ गर्दै कोठामा फर्किएका र बाहिरको धारामा हातखुट्टा धोएर केही नबोली सुतेको साक्षीको भनाइ छ।
आरोपित बुद्ध श्रेष्ठले भने प्रहरी समक्षको बयानमा अमृता लामामाथि झुक्किएर उखुको झुस लागेको विषयमा विवाद हुँदा सूर्यबहादुरले हातपात गरेको र ध्रुव मानन्धरले छुट्याएको दाबी गरेका थिए। अर्का आरोपित रामचन्द्र मानन्धरले महिला साथीलाई अपशब्द बोलेको विषयमा विवाद हुँदा सूर्यबहादुर बाहिर निस्किएको र पछ्याउँदै जाँदा धकेलाधकेल हुँदा उनलाई नदीको खोंचमा धकेलेको स्वीकार गरेका थिए। यद्यपि, अदालतमा उपस्थित भएपछि उनले आफ्नो बयान फेरेका थिए।
छोराको हत्यारालाई कानुनी कठघरामा उभ्याउन उनकी ७६ वर्षीया आमा विष्णुकुमारी पाण्डेले ११ वर्षसम्म निरन्तर न्यायको लडाइँ लडिन्। पटक–पटक अदालत धाउनुपरेको र सर्वोच्चमा समेत १५ पटकसम्म पेशी सरेको यो मुद्दाले न्यायिक ढिलाइ र अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाएको छ। एआइले तयार पारेको चित्र