काठमाडौं, २० जेठ २०८३।
सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) र एक युवती काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ स्थित ठूली सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण, काभ्रेमा कार्यरत असई शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ निवासी २६ वर्षीया शर्मिला चौधरीको शव बुधबार बिहान वन क्षेत्रमा दुई फरक रुखमा झुन्डिएको अवस्थामा भेटिएको हो।
प्रहरीका अनुसार असई राम गत वैशाख १९ गते दुई दिनको बिदा लिएर घरबाट निस्किएका थिए। त्यसयता उनी सम्पर्कविहीन भएपछि परिवारले खोजतलासका लागि निवेदन दिएको थियो। उक्त निवेदन सशस्त्र प्रहरीले वैशाख २१ गते जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा पठाएको जनाएको छ।
यस्तै, शर्मिला चौधरीका भाइ रञ्जित चौधरीले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा बहिनीको खोजतलासका लागि निवेदन दिएका थिए। प्रहरीका अनुसार शर्मिला वैशाख १८ गते शक्ति रामलाई भेट्न काभ्रे आएकी थिइन्।
खोजीका क्रममा दुवै जनाको मोबाइल सम्पर्कविहीन रहेको र शर्मिलाको मोबाइलको अन्तिम लोकेसन काभ्रेपलाञ्चोक क्षेत्रमा देखिएको प्रहरीले जनाएको छ।
बुधबार स्थानीयवासीले वन क्षेत्रमा महिला र पुरुषको जस्तो देखिने सडेगलेका कंकाल झुन्डिएको जानकारी प्रहरीलाई दिएपछि प्रहरी चौकी पाँचखालबाट खटिएको टोली घटनास्थल पुगेको थियो। अनुसन्धानका क्रममा ती शव असई शक्ति राम र शर्मिला चौधरीकै रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
दुवै शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।