भारतको दिल्लीस्थित लेमन ग्रिन रेस्टुरेन्टमा भीषण आगलागी, २१ जनाको मृत्यु

भारतको दिल्लीस्थित लेमन ग्रिन रेस्टुरेन्टमा भीषण आगलागी, २१ जनाको मृत्यु


  • एजेन्सीहरु
  • बुधबार, २० जेष्ठ २०८३
  • 1.3K
    Shares

पोखरा, २० जेठ २०८३।

भारतको राजधानी नयाँदिल्लीस्थित मालवीय नगरमा रहेको एक रेस्टुरेन्ट तथा होटलमा बुधबार बिहान भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ। मृतकहरूमा मध्य एसिया र अफ्रिकाका केही नागरिकसमेत रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतीय अनलाइन दैनिक भास्करका अनुसार मालवीय नगरस्थित लेमन ग्रिन रेस्टुरेन्टमा बिहान करिब ८ः५० बजे आगलागी सुरु भएको थियो। आगो केही समयमै रेस्टुरेन्टमाथि रहेको होटल फ्लोरिस स्टेसम्म फैलिएको थियो।

दिल्ली अग्नि सेवा र स्थानीय बासिन्दाका अनुसार आगलागीपछि भवनभित्र फसेका मानिसहरूको उद्धारका लागि व्यापक प्रयास गरिएको थियो। उद्धार टोलीले बेसमेन्टबाट समेत छ जनाभन्दा बढीलाई सकुशल बाहिर निकालेको जनाएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा ज्यान जोगाउन केही मानिसहरू जलिरहेको भवनबाट हाम फालेको देखिन्छ। स्थानीय बासिन्दाहरूले उद्धारमा सहयोग पुर्‍याउन भवनमुनि गद्दा बिछ्याएका थिए।

अहिलेसम्म ३७ जनाको उद्धार गरिएको बताइएको छ। उद्धार गरिएकामध्ये धेरैको अवस्था गम्भीर रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनाबारे दिल्ली प्रहरी र सम्बन्धित निकायले अनुसन्धान सुरु गरेका छन्। अधिकारीहरूले मृतक तथा घाइतेहरूको पहिचान गर्ने कार्य जारी रहेको बताएका छन्।

यस घटनाले नयाँदिल्लीमा होटल तथा व्यावसायिक भवनहरूको अग्नि सुरक्षा व्यवस्थामाथि पुनः प्रश्न उठाएको छ। स्थानीय प्रशासनले घटनाको विस्तृत छानबिन गरी आवश्यक कारबाही गरिने जनाएको छ।

प्रतिक्रिया