पोखरा, २० जेठ २०८३।
बाग्लुङमा मदिरा सेवनपछि एक मजदुरको उनकै श्रीमतीसहित साथीहरु मिलेर हत्या गरेका छन्।
जैमिनी नगरपालिका–१० राङखानी हाडीकोटमा मजदुरी गर्दै आएका लमजुङको क्व्होलासोथार गाउँपालिका–६ का ६२ वर्षीय देउबहादुर सार्कीको मदिरा सेवन पछि झगडा हुँदा उनकै श्रीमती र साथीहरुले हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार, मृतक सार्कीसहित चारै जना हाडीकोटमा मजदुरी गर्दै आएका थिए। सोमबार बिहान छोरेडाँडाखानी गाउँमा मदिरा सेवन गरेर काम गर्न जाँदै गर्दा सामान्य विवाद भएको र सोही क्रममा उनकी श्रीमती २६ वर्षीया लक्ष्मी नेपाली समेत मिलेर सार्कीलाई तीन जनाले ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक प्रसाईंले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार सार्कीकी श्रीमती २६ वर्षीया लक्ष्मी नेपाली, पोखरा महानगरपालिका–२६ जलधारेका ३८ वर्षीय रामआकाश विश्वकर्मा र मादी गाउँपालिका–३ याङ्गजाकोटका ५६ वर्षीय आसपुरे कामीलाई पक्राउ गरिएको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध जिल्ला अदालत बागलुङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतक सार्की र उनकी पत्नी नेपालीबीच ३६ वर्षको उमेर अन्तर देखिन्छ। बेला बेलामा श्रीमान्–श्रीमतीबीच सामान्य झगडा पहिलेदेखि नै हुँदै आएको अनुसन्धानमा खुलेको प्रसाईंले बताउनुभयो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ। मृतक सार्कीको जेठी श्रीमतीतर्फ दुई छोरी, माइलीतर्फ एक छोरा र हालकी श्रीमतीबाट चार वर्षको छोरा रहेको प्रहरीले जनाएको छ।