पोखरा , १९ जेठ २०८३।
पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरस्थित अँधेरीनेटामा सोमबार राति भएको जिप दुर्घटनामा परेर एक जना जनप्रतिनिधिको निधन भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
वडा कार्यालय आर्थरबाट चरीपानीतर्फ जाँदै गरेको ग १ ज ५८६५ नम्बरको बोलेरो पिकअप जिप सोमबार राति करिब ८ः४० बजे कुस्मा नगरपालिका वडा नम्बर १४ सोडे गौडामा अचानक सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा एक जना जनप्रतिनिधिको निधन भएको हो।
उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका कुश्मा नगरपालिका–१४ आर्थरका वडा सदस्य करिब ५२ वर्षीय केशवराज पौडेलको उपचारका क्रममा पोखरास्थित अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
सोही दुर्घटनामा घाइते भएका जिप चालक करिब २७ वर्षीय बुद्धिसागर पौडेल र ४६ वर्षीय राजेन्द्र पौडेलको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको छ। दुवै जनाको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ।
यात्रुहरूलाई गन्तव्यमा छाडेर चालक घर फर्किने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी ठुलीपोखरीबाट प्रहरी सहायक निरीक्षक राजेश गुरुङको कमाण्डमा टोली खटिएको थियो। साथै जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक दिनेश पौडेलको नेतृत्वमा थप प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।