पोखरा , १९ जेठ २०८३।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले ललितपुर र भक्तपुर क्षेत्रमा अपरेशन चलाउँदै अबैध लागू औषध ट्रामाडोल–५० नामक लागुऔषध दुईलाख १० हजार ६ सय ४० क्याप्सुल (२१ हजार ६४ पत्ता) सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेका ४१ वर्षीय वीरध्वज तामाङ र ट्याक्सी चालक ३८ वर्षीय सान्तबहादुर तामाङ रहेका छन्। अनुसन्धानका क्रममा लागुऔषध ओसारपसारमा प्रयोग भएको आशंकामा प्रदेश ०१–००२ ज ८८६३ नम्बरको ट्याक्सीसहित सान्तबहादुरलाई पनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद लागुऔषध, ट्याक्सी र पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।
सशस्त्र प्रहरीका अनुसार , विशेष सूचनाको आधारमा भक्तपुर जिल्ला मध्यपुर थिमी–६ कमेरेटारबाट काभ्रे जिल्ला पनौती नगरपालिका–५ घर भई भक्तपुर कटुन्जेमा डेरा गरी बस्ने ४१ वर्षीय वीरध्वज तामाङलाई आवश्यक सोधपुछको लागि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो।
सशस्त्र प्रहरीले तामाङको सूचनाका आधारमा ललितपुर जिल्ला गोदावरी नगरपालिका-२ बिशंखुनारायण मन्दिरबाट ३ सय मिटर अगाडि कोटडाँडा जाने रोडको छेउमा पतकरले छोपेको अबस्थामा ६ वटा बोरा र २ वटा चाउचाउको कार्टुनमा लुकाईछिपाई राखेको अवस्थामा उल्लेखित लागुऔषध फेला पारेको हो।
उनकै सूचनाको आधारमा लागुऔषध लुकाउने अर्का व्यक्ति काभ्रे जिल्लाको कोशीपारी–१ स्थायी घर भई ललितपुर जिल्लाको हरिसिद्धीमा डेरा गरी बस्ने ट्याक्सी चालक ३८ वर्षीय सान्तबहादुर तामाङ र उनले चलाउने गरेको प्रदेश ०१–००२ ज ८८६३ नम्बरको ट्याक्सीसहित जेठ १८ गते सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।
तामाङले लागुऔषध बोक्न ट्याक्सी प्रयोग गरेको आशंकामा नियन्त्रणमा लिइएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
नियन्त्रणमा लिइएका वीरध्वज तामाङलाई सशस्त्र प्रहरीले जेठ १२ गते नै आवश्यक कारबाहीको लागि प्रहरी बृत्त थिमीमा बुझाएको थियो भने आज नियन्त्रणमा लिइएका सान्तबहादुर तामाङलाई बरामद लागुऔषध र ट्याक्सीसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरी प्रभाग गोदावरी ललितपुरमा बुझाइएको छ।
सो लागुऔषध केही दिनअघि काठमाडौँ भित्रीएको सूचना पाएपछि ब्युरोले पिछा गरेको थियो। कलंकीबाट वीरध्वज तामाङले उक्त लागुऔषध ललितपुरको चंगाथली पुर्याएको बुझिएको छ। त्यसपछि उनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो।
त्यसलगत्तै आज नियन्त्रणमा लिइएका ट्याक्सी चालकले लागुऔषध हरिसिद्दिमा केही दिन राखेर आज बरामद भएको ठाउँसम्म सोही ट्याक्सी प्रयोग गरेर लुकाएको सशस्त्र प्रहरीले जनाएको छ।