पोखरा, १८ जेठ २०८३।
हत्या अभियोगमा तनहुँका एक युवा झापामा पक्राउ परेका छन्।
तनहुँको व्यास नगरपालिका वडा नम्बर १४ छाब्दी घर भएका ३५ वर्षीय रामबहादुर गौतम हत्या अभियोगमा झापामा पक्राउ परेका हुन्। माँ पाथीभारा प्लाई फ्याक्ट्रीमा कार्यरत उनीविरुद्ध प्रहरीले मेचीनगर नगरपालिका–१५ निलकोठी बस्ने ५५ वर्षीय रूद्र श्रेष्ठको हत्या गरेको अभियोग लगाएको छ।
आपसी वादविवादको क्रममा रामबहादुरले आइतबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका रूद्रको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।