पोखरा, १८ जेठ २०८३।
वीरगञ्जमा आफ्नै श्रीमतीको क्रूरतापूर्वक हत्या गरेर भागेका एक व्यक्ति लुकेर बसेको अवस्थामा महोत्तरीबाट पक्राउ परेका छन्।
गएको जेठ १४ गते साँझ ४२ वर्षीया श्रीमती हलसिया कुमारी देवीको फलामको गलले प्रहार गरी हत्या गरेर भागेका वीरगञ्ज महानगरपालिका–१० बजरङ्ग टोलमा बस्दै आएका ४५ वर्षीय रामनारायण दास तत्मा महोत्तरीमा पक्राउ परेका हुन्। उनलाई महोत्तरीको रामगोपालपुर नगरपालिका–७ स्थित आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। उ
पक्राउ परेका रामनारायण दास तत्मामाथि कर्तव्य ज्यान (ज्यान सम्बन्धी कसुर) मुद्दामा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि बहादुर बस्नेतले जानकारी दिए ।
प्रहरीका अनुसार गत जेठ १४ गते बेलुकी करिब ७:१० बजेको समयमा रामनारायणले मादक पदार्थ (मदिरा) सेवन गरी आफ्नी ४२ वर्षीय श्रीमती हलसिया कुमारी देवीलाई फलामको गलले टाउको लगायत शरीरका विभिन्न भागमा क्रूरतापूर्वक प्रहार गरी हत्या गरेका थिए । श्रीमतीको हत्या गरे लगत्तै उनी फरार भएका थिए ।
घटनापश्चात् जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष प्रहरी टोलीले प्राविधिक तथा स्थलगत अनुसन्धान सुरु गरेको थियो । सोही क्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीको समन्वय र सहयोगमा जेठ १६ गते दिउँसो करिब १२:०० बजेको समयमा उनलाई महोत्तरीको रामगोपालपुर नगरपालिका–७ स्थित लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।