पोखरा , १७ जेठ २०८३।
कैलालीको कैलारी गाउँपालिका–१ स्थित बनदेवी मन्दिर क्षेत्रमा पिकनिक मनाउन पुगेका दुई समूहबीच जेठ १४ गते भएको विवाद झडपमा परिणत हुँदा प्रहरीसहित ६ जना घाइते भएका छन्।
झडप नियन्त्रण गर्न पुगेका प्रहरीमाथि समेत हातपात हुँदा प्रहरी सहायक निरीक्षक साउन सिंह क्षेत्री भाट, प्रहरी हवल्दार भवान सिंह बुडाल र प्रहरी सहायक हवल्दार शैलेन्द्र बोहरा घाइते भएका हुन्। घाइते बोहराको धनगढीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनामा स्थानीय गोकर्ण बोहरा, रामचरण चौधरी र नृप बोहरा पनि घाइते भएका छन्। गोकर्ण बोहराको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको बताइएको छ।
स्थिति नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय सुखडबाट थप प्रहरी परिचालन गरिएको थियो। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा स्वरुप कठरिया, दिलिप कठरिया र अरमान कठरियालाई पक्राउ गरेको छ। साथै एउटा ट्र्याक्टर पनि नियन्त्रणमा लिइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।