पोखरा, १५ जेठ २०८३।
नुवाकोटमा बिहीबार साँझ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने गम्भीर घाइते भएका दुई जनाको काठमाडौँमा उपचार भइरहेको छ।
छहरे–टोखा सडकखण्डस्थित शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङमा बिएई ०५६९ नम्बरको विद्युतीय कार अनियन्त्रित भएर सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर सिराहाको सुखीपुरी–२ का ३५ वर्षीय सञ्जीवकुमार चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालले जानकारी दिए।
प्रहरीका अनुसार , उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौँस्थित ग्राण्डी अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन्। साथमा रहेको सवारी चालक अनुमति पत्रका आधारमा उनको सनाखत गरिएको प्रहरीले जनाएको छ।
सोही दुर्घटनामा गम्भीर घाइते भएका सुनसरीको इनरुवा नगरपालिका–५ का ४० वर्षीय उत्सव पोखरेल र काठमाडौँ महानगरपालिका–९ गौरीघाटका ४४ वर्षीय लोकेश मिश्रको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।
स्थानीयवासीको सहयोगमा प्रहरीले जङ्गल क्षेत्र र अँध्यारो अवस्थाका बाबजुद शीघ्र उद्धार गरेर घाइतेलाई उपचारका लागि काठमाडौँ पठाएको थियो।