पोखरा, १४ जेठ २०८३।
नवलपुरको झरहीखोलामा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किंदा नेपाली सेनाका जवानको मृत्युु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
नारायणगढबाट कावासोतीतर्फ आउँदै गरेको बाप्र ०२–०१६ प ९६१८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको लुप्र ०१–०११ प ९९९१ नम्बरको मोटरसाइकल नवलपुरको देवचुली नगरपालिका-१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा बुधबार एकापसमा ठोक्किंदा एक जना सैनिक जवानको मृत्यु भएको हो भने अन्य तीन जना घाइते भएका हुन्।
उक्त दुर्घटनामा परी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-९ घर भई हाल नेपाली सेनाको श्री नयाँ गोरख गण राष्ट्रिय निकुञ्ज कसरा चितवनमा कार्यरत सिपाही २६ वर्षीय दिनेश गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुर्का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए। उक्त
उक्त दुर्घटनापछि सडकमा पल्टिएको बाप्र ०२–०१६ प ९६१८ नम्बरको मोटरसाइकलका चालक नेपाली सेनाका सिपाही दिनेश गिरीलाई पछाडिबाट आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिएको प्रहरी उपरीक्षक खड्काले बताए। दुर्घटनामा गम्भीर चोट लागेका गिरीलाई उपचारका लागि देवचुली नगर अस्पताल दुम्कौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा लुप्र ०१–०११ प ९९९१ नम्बरको मोटरसाइकलका चालक रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ का ३४ वर्षीय रोहन पन्थी, सोही मोटरसाइकलमा पछाडि सवार रुपन्देहीको तिलोत्तमा नगरपालिका-१६ का २५ वर्षीय अमृत आचार्य र बाप्र ०२–०१६ प ९६१८ नम्बरको मोटरसाइकलमा पछाडि सवार रामेछापको मन्थली नगरपालिका–७ का २६ वर्षीय डम्बरबहादुर माझी घाइते भएको प्रहरीले जनाएको छ।
घाइते माझी पनि नेपाली सेनाको श्री नयाँ गोरख गण राष्ट्रिय निकुञ्ज कसरा चितवनमा कार्यरत सिपाही रहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।