पोखरा, १३ जेठ २०८३।
रामेछाप। रामेछापको गोकुलगंगा गाउँपालिकाका एक कर्मचारीको दुर्घटनामा परी निधन भएपछि पालिकाले आज शोक विदा दिएको छ ।
गोकुलगंगा गाउँपालिका अन्तर्गत आयुर्वेद शाखामा कार्यरत सिकिन्द्र कुमार महतोको सवारी दुर्घटनामा परी निधन भएपछि आज शोक बिदा दिएको हो ।
महोत्तरीको गौशाला नगरपालिका-१२ स्थायी घर भएका महतो गत जेठ ५ गते साँझ गाउँपालिकाको कार्यालयबाट घर जाने क्रममा बर्दिबासमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाईते भएका थिए । त्यति बेला दुर्घटनामा गम्भीर घाइते भएका महतोको उपचारकै क्रममा सोमबार निधन भएको थियो।
उनको निधनप्रति गोकुलगंगा गाउँपालिकाले गहिरो दुःख व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईद्वारा जारी सार्वजनिक सूचना अनुसार, बुधबारका दिन गाउँपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालयहरू, शैक्षिक संस्थाहरू तथा स्वास्थ्य संस्थाहरू (आकस्मिक सेवा बाहेक)मा शोक बिदा दिइएको छ ।
