पोखरा, १२ जेठ २०८३।
महोत्तरीमा अव्यवस्थित बसोबास खाली गराउने विषयलाई लिएर तनाव उत्पन्न भएको छ। सोमबार राति डिभिजन वन कार्यालय महोत्तरीको एउटा गाडीमा आगजनी गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, डिभिजन वन कार्यालयको टोली सोमबार दिउँसो बर्दिबास नगरपालिका–३ क्षेत्रमा अव्यवस्थित बसोबास हटाउन सूचना दिन पुगेको थियो। त्यसपछि स्थानीयवासी आक्रोशित बनेका थिए।
महोत्तरीका डीएसपी शैलेन्द्रकुमार भट्ट का अनुसार, स्थानीयले राति बीपी राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए। अवरुद्ध सडक खुलाउन प्रहरीसहित वन कार्यालयको टोली पुगेपछि अवस्था थप तनावपूर्ण बनेको थियो।
स्थानीयले मंगलबार बिहान करिब २ बजेसम्म प्रहरी र वन कार्यालयको टोलीलाई घेराबन्दीमा राखेको तथा सोही क्रममा वन कार्यालयको गाडीमा आगजनी गरिएको डीएसपी भट्टले जानकारी दिएका छन्।
घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गणतन्त्र राष्ट्रिय दैनिक
प्रतिनिधि गौरव मगर