पोखरा, १२ जेठ २०८३।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मुद्दामा सोमबार सुनुवाइ हुन सकेन । समयमै मिसिल अदालतमा पेश नहुँदा सुनुवाई हुन नसकेको हो । तर उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
बिहीबार जिल्ला अदालत पर्साले प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो । त्यस्तै शुक्रबार सर्वोच्च अदालतले अब म्याद थप नगर्न आदेश दिएको थियो । आफूलाई गैरकानुनीरूपमा हिरासतमा राखेको भन्दै प्रसाईंको तर्फबाट बन्दी प्रत्येक्षीकरण निवेदन दर्ता भएको थियो। त्यसको सुनुवाइमा सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले प्रसाईंको रिट खारेज गर्दै सरकारका नाममा यस्तो जारी गरेको थियो ।
राष्ट्र, राष्ट्रियता तथा नागरिक बचाउ अभियानका अध्यक्ष समेत रहेका प्रसाईंलाई कार्यक्रमका लागि पर्सा पुगेका बेला प्रहरीले पक्राउ गरेको थियो । प्रसाईंले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत विभिन्न किसिमको अभिव्यक्तिहरू दिने क्रममा सार्वजनिक नैतिकता, शिष्टचारविरुद्ध कसैप्रति घृणा वा द्वेष फैलाउने र विभिन्न जातजाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्नेलगायत अभिव्यक्ति दिएकाले नियन्त्रणमा लिइएको थियो ।