उद्धारको नाममा ठगी धन्दा : पिडित र पीडक दुवै पक्षबाट रकम असुली

उद्धारको नाममा ठगी धन्दा : पिडित र पीडक दुवै पक्षबाट रकम असुली


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ९ जेष्ठ २०८३
  • 855
    Shares

पोखरा, ९ जेठ २०८३।

उद्धारको नाममा ठगी धन्दा चलाउँदै आएको दुई जनालाई प्रहरीले काठमाण्डौमा पक्राउ गरेको छ।

विदेशमा अलपत्र परेकाहरूलाई उद्धार गरिदिने प्रलोभन देखाएर आफन्तसँग रकम असुल्ने तथा त्यही पीडितको विवरण पीडक पक्षलाई पनि देखाएर दोहोरो रकम असुली गरेको आरोपमा प्रहरीले काठमाण्डौमा दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी नगरपालिका–७ घर भई काठमाडौं कीर्तिपुर बस्ने ३३ वर्षीय योगेन्द्र पौडेल र धनुषाको मिथिला नगरपालिका–८ घर भई काठमाडौंको कागेश्वर मनोहरा नगरपालिका–८ बस्ने ४३ वर्षीय रवीन कोइराला छन्। दुवैलाई प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए।

उनीहरुको साथबाट मन्त्रालयदेखि विभिन्न संस्थाका कार्डहरू बरामद भएको प्रहरीले जनाएको छ। योगेन्द्रको साथबाट वैदेशिक रोजगार सुरक्षा अध्यक्ष, सुरक्षा जागरुक युवा समाज अध्यक्ष र औषध दुरुपयोग अनुसन्धान समिति अध्यक्ष लेखिएका कार्ड तथा शहरी विकास मन्त्रालय सिंहदरबारको भेटघाट कार्ड बरामद भएको छ।

यसका साथै उनको नाममा जारी नोबल बैंकको तीन लाखको चेक, वैदेशिक रोजगार सुरक्षा समितिलाई लेखिएको निवेदन, नगद ११ हजार र एक मोबाइल फोन पनि फेला परेको छ।

कोइरालाको साथबाट धर्मकर्म उपभोक्ता सहकारी संस्थाको लोन अफिसर कार्ड, ज्योति विकास बैंकको २ लाखको चेक, पासपोर्ट फोटोकपी, ब्लुबुक र मोबाइल फोन बरामद भएको छ।

अभियुक्तहरुबिरुद्ध अहिले काठमाडौं महानगरपालिका–८ पिंगलास्थानमा रहेको ‘हाम्रो डिजिटल स्टुडियो’का सञ्चालक रुपन्देहीको सियारी गाउँपालिका–५ घर भएका ६० वर्षीय विष्णु न्यौपानेलाई गएको बैशाख ४ गते संसाँझै अपहरण गरेर बागमती करिडोरहुँदै निलोपुलमुनि लगेर ५० हजार रुपियाँ फिरौती लिएर छाडेको आरोप प्रहरीले लगाएको छ।

प्रहरीले अभियुक्तहरुबिरुद्ध डाँका चोरी र अपहरण फिरौतीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाएको छ। यी व्यक्तिहरूबाट अन्य कोही पनि ठगीमा परेको हुनसक्ने आँकलन गर्दै प्रहरीले पीडित भएमा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रतिक्रिया