पोखरा, ९ जेठ २०८३।
तनहुँमा शुक्रबार साँझ चट्याङ लाग्दा दुई जना महिला घाइते भएका छन् ।
तनहुँको व्यास नगरपालिका–१४ रुम्सीमा शुक्रबार साँझ ६ः०० बजेको समयमा हावाहुरी र वर्षासँगै स्थानीय सन्तराज थापाको घरको आँगनमा परेको चट्याङ लागेर दुई जना महिला घाइते भएका हुन् ।
उक्त चट्याङ लागेर नवलपरासी (पूर्व) बुलिङटार गाउँपालिका–१ बस्ने वर्ष ३५ की भीमकुमारी थापा र तनहुँको व्यास नगरपालिका–१४ रुम्सी बस्ने वर्ष ६७ की पुरनमाया थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए।
घटनालगत्तै घाइतेहरूलाई उद्धार गरी तत्काल उपचारका लागि दमौलीस्थित प्रादेशिक अस्पताल पुर्याइएकोमा थप उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमसी) अस्पताल रिफर गरिएको सूचना अधिकारी कार्कीले जानकारी दिए ।
प्रहरीले वर्षात्को समयमा चट्याङको जोखिम बढ्ने भएकाले मेघगर्जन र हावाहुरी चलेको बेला सुरक्षित स्थानमा बस्न र आवश्यक सतर्कता अपनाउन स्थानीय बासिन्दालाई आग्रह गरेको छ । यस साता अघि रुम्सीमा मै चट्याङ लागेर सन्तराज थापाको छोरी १९ वर्षीया ललिता थापाको मृत्यु भएको थियो ।