काठमाडौं, ९ जेठ २०८३।
परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित भएकाे छ । मन्त्री खनालको आउने जेठ १८ गतेका लागि तय भएको भ्रमण स्थगित भएको हाे ।
भारतीय सरकारको निमन्त्रणामा मन्त्री खनाल आउने जेठ १८ गते नयाँदिल्लीमा आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय बिग क्याट एलायन्स (आईबीसीए) शिखर सम्मेलनमा सहभागी हुने तय भएको थियो । तर भारतले उक्त सम्मेलन नै स्थगित गरेपछि भ्रमण राेकिएकाे समाचार स्रोतहरुले जानकारी दिएका छन्
भारतको पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयले यो सम्मेलनको नयाँ मिति पछि तय गरिने आधिकारिक जानकारी दिएको छ। तसर्थ, सम्मेलन सरेकै कारण नेपालका परराष्ट्रमन्त्रीको भ्रमण पनि रोकिएको कुरा आधिकारिक रूपमै पुष्टि भएको छ।
अफ्रिकाका केही भागमा फैलिएको इबोला भाइरसको प्रकोपका कारण अफ्रिकी मुलुकहरूको सहभागिता सुनिश्चित गर्न अफ्रिकी युनियनको सल्लाहमा भारतले यो सम्मेलन हाललाई स्थगित गरेको हो। यो सम्मेलन चौथो ‘भारत-अफ्रिका फोरम समिट’ सँगै आयोजना गर्ने तयारी थियो।
नेपालमा नयाँ सरकार गठन भएपछि र भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण रद्द भएपछि देखिएको कूटनीतिक चिसोपनका बीच हुन लागेको मन्त्री खनालको यो भ्रमणलाई निकै महत्त्वका साथ हेरिएको थियो।