पोखरा , ७ जेठ २०८३।
कैलालीमा कर्मचारीलाई जग्गा नाप्न नदिने पांच जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले बुधबार कर्मचारीलाई जग्गा नाप्न नदिने पांच जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–४ का धनबहादुर मगर, कालु आउजी, दुदा दमाई, धिर्का रावत र चन्द्रसिंह दानी रहेको प्रहरीले जानकारी दिएको छ।
उनीहरुबिरुद्ध जिल्ला अदालत कैलालीले सरकारी कर्मचारीलाई नाप–नक्सा गर्न बाधा अवरोध गरेको मुद्दामा दोषी ठहर गर्दै कैद सजायं गर्ने फैसला गरेको थियो। तर उनीहरु फरार सूचीमा रहेका थिए।
अदालतको फैसला अनुसार , लम्कीचुहा नगरपालिका–४ का धनबहादुर मगरलाई तीन महिना तथा सोही मुद्दामा बाँकी चार जना कालु आउजी, दुदा दमाई, धिर्का रावत र चन्द्रसिंह दानीलाई १/१ महिना कैद सजाय तोकिएको थियो। इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले उनीहरुलाई बुधबार आफ्नै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।