पोखरा , ६ जेठ २०८३।
दार्चुलाको ब्यास गाउँपालिका–४ सुनसेरास्थित सम्पाल नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेव सिंह धामी सोमबार विद्यालय परिसरमै मृत भेटिएको घटनामा अनुसन्धान गर्न भन्दै प्रहरीले सोही विद्यालयका पांच शिक्षकसहित आठ जनालाई पक्राउ गरेको छ ।
प्रधानाध्यापक धामीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले सोही विद्यालयका ५ शिक्षकसहित अत अथ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा शिक्षकहरू पदमराज भट्ट, हरीदत्त भट्ट, बिक्रम सिंह कुँवर, दलीदत्त भट्ट, पुस्करराज भट्ट तथा पञ्चदेवा आधारभूत विद्यालयका प्रधानाध्यापक परमानन्द भट्ट रहेका छन् ।
यस्तै, सम्पाल माध्यमिक विद्यालयको निर्माणाधीन भवनका ठेकेदार खेमराज भट्ट भनिने खिमानन्द भट्ट र स्थानीय व्यापारी नरेन्द्रराज भट्ट पनि पक्राउ परेका छन् । उनीहरुविरुद्ध आत्महत्या दुरुत्साहन शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
धामीले सोमबार बिहान करिब ५ बजे श्रीमती र छोराहरूलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका थिए । उक्त स्टाटसमा उनले आफू आत्महत्याको निर्णयमा पुग्नुका कारण खुलाएका छन् । हाल पक्राउ परेका अधिकांश व्यक्तिको नाम उनले आफ्नो सुसाइड नोटमा उल्लेख गरेका छन् ।
धामीले आफ्नो स्टाटसमा केही शिक्षकहरूले आफूविरुद्ध षड्यन्त्र र योजना बनाइरहेको दाबी गरेका छन् । उनले विद्यालयका शिक्षक नवराज भट्ट बालिका बलात्कार मुद्दामा पक्राउ परेको घटनासमेत उल्लेख गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार वैशाख १२ गते सम्पाल माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत एक बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षक नवराज भट्ट पक्राउ परेका थिए । त्यसपछि सोही मुद्दामा प्रधानाध्यापक धामीलाई समेत फसाउने योजना बनेको चर्चा चलेको थियो ।
धामीले आफ्नो सुसाइड नोटमा लेखेका छन्– “२०८३ वैशाख १२ गते विद्यालयका इमानदार शिक्षक राजेन्द्र कुँवर सरको फोन आयो । नवराज सरलाई प्रहरीले लगेको जानकारी पाएँ । विद्यालय र शिक्षकको प्रतिष्ठाका कारण तनाव सिर्जना भएको थियो । वैशाख १५ गते विद्यालय पुगेपछि मलाई समेत फसाउने योजना बनाएर समुदायमा हल्ला फैलाइएको रहेछ ।”
शिक्षक नवराज भट्टसँगै आफूलाई पनि बलात्कार मुद्दामा मुछ्ने प्रयास भइरहेको हल्लापछि धामी केही दिनदेखि गम्भीर तनावमा रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालयबाट प्रहरी हुँ भन्दै आएको फोनमार्फत नवराज भट्टले आफ्नो नाम पोल गरेको भन्दै धामीलाई पक्राउ गर्ने तयारी रहेको जानकारी दिइएको थियो ।
झुठा आरोपमा पक्राउ परे सामाजिक प्रतिष्ठा गुम्ने भयका कारण धामीले आत्महत्याको बाटो रोजेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि जिल्ला प्रहरी कार्यालय दार्चुलाले भने बालिका बलात्कार मुद्दासँग धामीको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ । गलत सूचना र मानसिक तनावका कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
आफ्नो आत्महत्या नोटमा धामीले विद्यालयलाई नमुना बनाउन आफूले गरेको योगदान उल्लेख गर्दै केही शिक्षक र स्थानीय व्यक्तिहरूले निरन्तर मानसिक तनाव दिएको आरोप लगाएका छन् । उनले ४६ बुँदामा विद्यालय सुधार र विकासका कामहरू उल्लेख गरेका छन् ।
धामीले आफ्नो परिवारलाई आफूलाई बिर्सेर अगाडि बढ्न आग्रह गरेका छन् भने छोराहरूलाई आमाको साथ नछोड्न अनुरोध गरेका छन् । विद्यालय, विद्यार्थी र समुदायसँग क्षमा माग्दै उनले सम्पाल माध्यमिक विद्यालयको निरन्तर प्रगतिको कामनासमेत गरेका छन् ।