पोखरा, ३ जेठ २०८३।
पर्यटकीय राजधानी पोखराको गहना फेवातालमा कायकिङ गर्ने क्रममा हावाहुरीका कारण अलपत्र परेका दुईजनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक सिता पोखरेलको नेतृत्वको टोलीले पोखरा महानगरपालिका–६, पामेस्थित फेवातालमा कायकिङ गर्ने क्रममा हावाहुरीका कारण अलपत्र परेका दुईजनाको उद्धार गरेको हो।
फेवातालमा कायकिङ गरिरहेका बेला हावाहुरीले शनिबार अपराह्न करिब १६ः३५ काठमाडौंको सिनामंगलका ३४ वर्षीय अनुज पुरी र २८ वर्षीया सिवानी खड्का पुरीलाई अचानक आएको तीव्र हावाहुरीका कारण तालको बीचमा फसेको खबर पाएपछि सशस्त्र प्रहरीको तालिमप्राप्त उद्धार टोली उद्धारका लागि खटिएको प्राप्त समाचारमा जनाइएको छ।
उनीहरूको उद्धारका निम्ति सशस्त्र प्रहरीका १० जनाको विशेष टोली परिचालन गरिएको थियो । टोलीले तालमा फसेका दुवैजनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याएको सशस्त्र प्रहरीले जनाएको छ । हाल उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ ।