पोखरा, २ जेठ २०८३।
सुनसरी जिल्ला अदालतको शौचालयबाट प्रहरीलाई झुक्याएर भागेका थुनुवा पोखरामा मोबाइल र ल्यापटप चोरेर भाग्दै गर्दा हेटौडाबाट पक्राउ परेका छन्।
गएको बैशाख ८ गते सुनसरी जिल्ला अदालतको शौचालयबाट प्रहरीलाई झुक्याएर भागेका तेह्रथुमको म्याङलुङ नगरपालिका–१ घर भइ सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा बस्दै आएका १९ वर्षीय सुरज खड्का पोखरामा मोबाइल र ल्यापटप चोरेर भाग्दै गर्दा हेटौडाबाट पक्राउ परेका हुन्।
प्रहरीका अनुसार , इलाका प्रहरी कार्यालय इटहरीको टोलीले चोरीको आरोपमा चैत १६ गते पक्राउ परेका खड्कालाई प्रहरीले आबश्यक अनुसन्धान पुरा गरी जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत सुनसरीमा बैशाख ८ गते पेश गरेको थियो। त्यस दिन अदालतले उनलाई एक लाख रूपैयाँ धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको थियो।
आफूसंग धरौटी बुझाउने रकम नभएको बताउदै आएका खड्का धरौटीबापतको रकम नबुझाइकन प्रहरीलाई छलेर त्यही दिन भागेका थिए ।
प्रहरीलाई चक्याएर सुनसरीबाट भागेका खड्का पोखरा आएर लेकसाइडस्थित एक होटलमा ग्राहक बस्नेर बसेका थिए। त्यही क्रममा छेउकै कोठामा बसेका विदेशी पर्यटकको आइफोन र ल्यापटप चोरी गरी गरेर भाग्दै गर्दा प्रहरीले उनलाई हेटौडाबाट पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।
उनी त्यही चोरीको आइफोन प्रयोग गर्दा पक्राउ परेको प्रहरीले जिकिर गरेको छ।
चोरी गरेको मोबाइलको कल उठाउँदै उनले आफूलाई प्रहरी बताएर फोनधनीसँग लक कोड माग्ने प्रयास गरेका थिए । “तपाईंको फोन भेटिएको छ, भेरिफाइ गर्न कोड दिनुहोस्,” भन्ने उनको यही चाल नै अन्ततः पक्राउको मुख्य आधार बन्यो । कास्की र इटहरी प्रहरीको संयुक्त टोलीले उनलाई शुक्रबार हेटौडाबाट पक्राउ गरेको हो ।