पोखरा , ३१ बैशाख २०८३।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ मा पर्ने वनरझुला गाउँका छोटु भनिने वीरेन्द्र राय बैदेशिक रोजगारका क्रममा बिदेशमा छन्। दुई छोरीमध्ये जेठी छोरीको बिहेबारी भैसकेको छ।
घरमै रहेकी १३ वर्षकी छोरी आमा अनितादेवी रायको बाटो हेरिरहेकी छिन्। तर अनितादेवी कसैलाई नभेट्ने गरी यस संसारबाट बिदा भैसकेकी छिन्।
अनितादेवी राय बुधबार सोही क्षेत्रको ‘नौ किलोमिटर’ भन्ने स्थान नजिक कोशी नदी किनारमा मृत भेटिएकी छन् । हातखुट्टा बाँधिएको र सडेगलेको अवस्थामा उनको शब् फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए। उनको ढुंगा प्रहार गरी हत्या गरिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ।
पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्राप्त जानकारी अनुसार , अनितादेवी गत बुधबार रातिदेखि सम्पर्कविहीन भएकी थिइन् । सो रात गाउँमा छिमेकीको विवाह समारोह भइरहेका कारण अधिकांश स्थानीय जन्तीमा व्यस्त रहेका थिए । अनिता घरमै एक्लै थिइन् । उनी हराएको रात घरको आँगनमा रगतसमेत देखिएको प्रहरीले जनाएको छ ।
सो घटनाबारे थप अनुसन्धान भइरहेको र तथ्यहरु अझै पनि खुल्न बाँकी रहेको सप्तरी प्रहरीले जनाएको छ ।