पोखरा , ३१ बैशाख २०८३।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो चिनियाँ समकक्षी राष्ट्रपति सी जिनफिङ भेट्न बेइजिङ पुगेका छन्।
चिनियाँ राष्ट्रपति सी जिनफिङको निमन्त्रणामा उनलाई भेट्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने भ्रमणका लागि बुधबार चीनको राजधानी बेइजिङ पुगेका हुन् ।
ट्रम्पलाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ उपराष्ट्रपति हान झेङले स्वागत गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पको यो करिब नौ वर्षयताको पहिलो चीन भ्रमण हो भने नोभेम्बर २०१७ पछिको दोस्रो चीन भ्रमण हो ।
चीन बसाइको क्रममा ट्रम्पले समकक्षी सी जिनफिङसँग भेटवार्ता गर्नेछन् । चीनको विदेश मन्त्रालयका अनुसार दुई नेताबीच द्विपक्षीय सम्बन्ध तथा विश्व शान्ति र विकाससँग सम्बन्धित प्रमुख विषयमा गहन विचार–विमर्श हुनेछ । दुई महाशक्ति राष्ट्रका प्रमुखबीचको यो भ्रमणलाई विश्वभर चासोका साथ हेरिएको छ ।
यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गर्दा युक्रेनमा रुसको आक्रमण अन्त्य गर्ने विषयमा छलफल गर्न आग्रह गरेका छन्।
बेइजिङले युक्रेन युद्धमा तटस्थ अडान लिएको छ। चीनले रुसको आक्रमणको कहिल्यै निन्दा गरेको छैन।
‘हामी हाम्रा अमेरिकी साझेदारसँग निरन्तर सम्पर्कमा छौँ’, जेलेन्स्कीले रोमानियामा आयोजित शिखर सम्मेलनमा भने। जेलेन्स्कीले भने, ‘हामी युक्रेनमा अमेरिकी भूमिकाका लागि आभारी छौँ र थप आशा पनि गर्दछौँ कि युक्रेनविरुद्ध रुसको युद्ध अन्त्यको मुद्दा अहिले पनि उठ्नेछ।’