पाेखरा, २९ बैशाख २०८३ ।
खाईपाई आएको वडाध्यक्ष पद छाडेर अमेरिका हान्निएका स्याङजाका एक जना वडाध्यक्ष पोखरामा पक्राउ परेका छन्।
जिल्लाको पुतलीबजार नगरपालिका वडा –४ का अध्यक्ष शिवबहादुर थापा मानव बेचविखन मुद्दामा सोमबार पोखराबाट पक्राउ परेका हुन् ।
पीडितले दिएको किटानी जाहेरीका आधारमा थापालाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको नेपाल प्रहरीको मानव बेचविखन तथा अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिए ।
थापाले २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
निर्वाचित भएपश्चात १५ महिना जिम्मेवारीमा काम गरे पनि २०८० भदौ १५ गते स्वास्थ्य उपचारका लागि भन्दै वडा सदस्य लिलावती पौडेललाई कार्यवाहकको जिम्मेवारी दिएर उनी अमेरिका हान्निएका थिए ।
थापा दुई महिना पहिला मात्र नेपाल फर्किएका बताइएको छ । अमेरिका रहेको बेलामा नगरपालिकाले २०८० भदौ देखि २०८१ असार महिनासम्मको सेवा सुविधा दुई लाख ७६ हजार एकसय ९० रुपियाँ भुक्तानी गरेको थियो ।