पाेखरा, २८ बैशाख २०८३ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति रवि लामिछाने नेपाल पर्यटन बोर्डअघि भएर आफ्नो गाडीमा जाँदै गर्दा एक महिलाले हात फैलाएर गाडी रोकिन्। त्यतिले मात्र नभएर उनी रबि लामिछाने चढेको गाडी अगाडी थचक्क भूईमा बसिदिइन्। त्यसपछि रबि लामिछानेले के भयो भनेर सोधे।
उनको गाडी अगाडी थचक्क बस्ने महिला अरु नभै ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्ने डाक्टर रोशनी नेपाली वादी थिइन्।
डाक्टर रोशनी नेपाली वादी गाडीअघि लम्पसार परेपछि गाडीभित्र रहेका रविले रोशनीलाई बोलाउँछन् । अनि सोध्छन्, ‘किन गाडीअघि बस्नुभयो ?’ रोशनीले भन्छिन्, ‘लालीबजार फिल्मले हाम्रो इज्जत लुटिराको छ । हामी यौनकर्मी हौं ?’
रविले भन्छन्, ‘विवाद भएको त सुनेको थिएँ ।’ रोशनीले थप्छिन्, ‘उच्च अदालतमा रीट दिएको छ । अदालतले अन्तरिम आदेश खारेज गर्याे । असन्तुष्टि भएर मैले सर्वोच्चमा निवेदन पनि गरेँ । भोलि सुनुवाइ छ । त्यसले गर्दा अहिले हजुर हाम्रो कृष्ण बनिदिनुस् ।’
रविले भन्छन्, ‘अदालतको आदेशको विरुद्धमा हामी जान सक्दैनौं । अदालतको विकल्प अदालत नै हो ।’ रोशनीले प्रदर्शनरत फिल्म ‘लालीबजार’ रोक्नका लागि उच्च अदालत पाटनमा रीट दिएकी थिइन् ।
उनको रीट उपर अदालतले अन्तरिम आदेश दिएन । अहिले फिल्म प्रदर्शन भइरहेको छ तर रोशनी लगायत केही अभियन्ताले माइतीघरमा आन्दोलन गरिरहेका छन् । फिल्मले वादी समुदायलाई बदनाम गरेको उनीहरूको आरोप छ ।
तर रोशनीहरूले भनेजस्तो नभएको भन्दै अदालतले प्रदर्शन अनुमति दियो । अहिले फिल्मले दर्शकको भरपूर साथ पाइरहेको छ ।