ट्रम्पद्वारा युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार : अमेरिकी आक्रमणको बदला लिनबाट पछि नहट्ने इरानको घोषणा

ट्रम्पद्वारा युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार : अमेरिकी आक्रमणको बदला लिनबाट पछि नहट्ने इरानको घोषणा


  • एजेन्सीहरु
  • सोमबार, २८ बैशाख २०८३
  • 1.1K
    Shares

पोखरा , २८ बैशाख २०८३।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार गरेका छन् ।

आफ्नो ‘ट्रुथ सोशल’ प्लेटफर्ममा पोस्ट गर्दै ट्रम्पले भर्खरै इरानका प्रतिनिधिहरूबाट आएको जवाफ पढेको र उक्त योजना पूर्ण रूपमा अस्वीकार्य रहेको बताएका छन् ।

इरानले यसअघि पाकिस्तानका मध्यस्थकर्तामार्फत ट्रम्पलाई अर्को प्रस्ताव पठाएको थियो । उक्त प्रस्तावमा सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने तथा तेहरानमाथि लगाइएका प्रतिबन्धहरू हटाइनुपर्ने आवश्यकतामा जोड दिइएको बताइएको थियो ।

‘वाल स्ट्रिट जर्नल’का अनुसार इरान आफ्नो आणविक कार्यक्रम तथा युरेनियमको भण्डारसम्बन्धी अमेरिकी मागहरूमा सहमत भएको छैन ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि इरानसँगको युद्ध अझै समाप्त नभएको र अमेरिका तथा इजरायलको उद्देश्य इरानको आणविक कार्यक्रम अन्त्य गर्नु रहेको बताएका छन् ।

यसअघि आइतबार तेहरानले पाकिस्तानमार्फत वासिङ्टनलाई एउटा प्रस्ताव पठाएको थियो ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उक्त प्रस्तावमा सबै मोर्चामा युद्ध अन्त्य गरिनुपर्ने तथा तेहरानमाथि लगाइएका प्रतिबन्धहरू हटाइनुपर्ने माग गरिएको थियो ।

इरानको प्रस्तावमा विशेष गरी अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्ध ३० दिनका लागि हटाउनुपर्ने तथा इरानी बन्दरगाहहरूमा लगाइएको नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो ।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार , इरानले आइतबार अमेरिकाको  पछिल्लो शान्ति प्रस्तावको जवाफ दिएको छ। शनिबार राति इरानी ड्रोनले खाडी क्षेत्रका धेरै लक्ष्यमा आक्रमण गर्ने चेतावनीबिच अमेरिकाको इरानसँगको युद्धमा शान्तिका लागि पठाएको प्रस्तावको जवाफ पठाएको हो।

शान्तिका लागि वार्ता र छलफल चलिरहँदा तेहरानले कुनै पनि नयाँ अमेरिकी आक्रमणको बदला लिनबाट पछि नहट्ने पनि जनाएको छ। सरकारी प्रसारक आइआरआईबीका अनुसार तेहरानको प्रतिक्रिया, पाकिस्तानी मध्यस्थकर्ताहरूलाई दिइएको छ।

जवाफ इरान लगायतका सहयोगी समूहमाथिको आक्रमण रोक्ने र विशेष गरी लेबनानमा युद्ध अन्त्य गर्ने बिषय र ‘ढुवानी सुरक्षा सुनिश्चित गर्ने’ विषयलाई जोड दिइएको बताइएको छ।

यसअघि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानबाट शुक्रबारसम्ममा जवाफको अपेक्षा गरिरहेको बताएका थिए।

प्रतिक्षा लम्बिँदै जाँदा खाडीमा युद्धविरामबिच तनाव बढ्दै गएको छ।

आइतबारको ड्रोन हमलामा एउटा कतारको बन्दरगाहतर्फ जाँदै गरेको मालवाहक जहाजमा क्षति पुगेको थियो।

संयुक्त अरब इमिरेट्सले इरानलाई अर्को आक्रमणमा इरानको हात रहेको आरोप लगाएको छ, जुन पुष्टि भएमा यो एक महिना पुरानो युद्धविराम सुरु भएयता खाडी देशमाथि दोस्रो आक्रमण हुनेछ।

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आइतबार भनेका छन्, ‘हामी शत्रुसामु कहिल्यै झुक्ने छैनौँ र वार्ता वा छलफलको कुरा हुँदैमा यसको अर्थ आत्मसमर्पण वा पछि हट्नु होइन।’

प्रतिक्रिया