पाेखरा, २५ बैशाख २०८३ ।
पक्षघात भएकी सौतेनी सासुको हत्या गरेको आरोपमा प्युठानमा एक महिला पक्राउ परेकी छिन्।
स्वर्गद्वारी नगरपालिका-६ डाँडाखर्ककी चेली सुनार आफ्नै सौतेनी सासु ६३ वर्षीया धनीकुमारी सुनारको हत्या गरेको आरोपमा झन्डै साढे तीन वर्षपछि पक्राउ परेकी हुन्।
प्रहरीका अनुसार , ६३ वर्षीया धनीकुमारी सुनार २०७९ मंसिर १ गते टाउकोमा गम्भीर चोट लागेको अवस्थामा छिमेकीको बारीमा मृत अवस्थामा भेटिएकी थिइन् । धनीकुमारीको मृत्यु शंकाश्पद देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईले घटनाबारे प्रतिवादी खुल्न नसकेकाले हालसम्म त्यसै राखिएको र अनुसन्धानबाट सौतेनी कान्छी बुहारीको संलग्नता खुल्न आएपछि पक्राउ गरिएको बताए ।
जिल्ला अदालतबाट उनीविरूद्ध पक्राउ पुर्जी लिई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको भट्टराईले बताए । पक्षघातबाट पिडित सासू धनीकुमारी थलिएपछि रेखदेख गर्नका झन्झट्ले हत्या गरेको प्रारम्भिक अनुसन्धानसहित प्रहरीले मुद्दा अघि बढाएको हो ।