पाेखरा, २४ बैशाख २०८३ ।
मकवानपुरमा ट्रकको ठक्करबाट एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित सडकमा ट्रकको ठक्करबाट नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे मकवानपुरमा दरबन्दी रहेका प्रहरी सहायक हवल्दार ३६ वर्षीय किरण श्रेष्ठको मृत्यु भएको हो ।
नवलपुरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा प्र ०३–००५ प १४१५ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको ना ५ ख ५२५२ नम्बरको फलाम बोकेको ट्रकले बिहिबार दिउँसो पछाडिबाट ठक्कर दिदा गम्भीर घाइते भएका स्कुटर चालक प्रहरी सहायक हवल्दार श्रेष्ठको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा मृत्यु भएका प्रहरी सहायक हवल्दार श्रेष्ठ नुवाकोट ताँदी गाउँपालिका–६ निवासी रहेको बताइएको छ।
ठक्कर दिने ट्रक र चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ निवासी २४ वर्षीय रञ्जित कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।