पोखरा, २४ बैशाख २०८३ .
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेकी मानवअधिकार अभियन्ता मोहना अन्सारीलाई नेपाली कांग्रेसले आफ्नो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा नियुक्त गरेको छ ।
नेपाली कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले मंगलबार नियुक्त गरेका ३९ जना सदस्यहरूको सूचीमा अन्सारीको पनि नाम रहेको छ । उनलाई बाँके जिल्लाबाट प्रतिनिधित्व गराई सदस्य मनोनीत गराइएको छ ।
अन्सारी नेपालकी पहिलो मुस्लिम महिला अधिवक्ता तथा राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य हुन् । रास्वपाको समानुपातिक बन्दसूचीमा उनी मुस्लिम महिला क्लस्टरको दोस्रो नम्बरमा थिइन् । पछि उनीसहित अन्य केहीले नाम फिर्ता लिएका थिए । यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा समेत उनी मन्त्री बन्ने चर्चा चलेको थियो ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा परमाणु वैज्ञानिक, कवि, क्रिकेटर, चलचित्र निर्देशकलगायत विभिन्न क्षेत्रका विज्ञ तथा अभियन्ताहरूलाई समेटिएको छ ।