पोखरा, २३ बैशाख २०८३।
नेपालगञ्जमा ब्रतबन्धको निम्तो मान्न गएका एक युवाको हत्या गरेको आरोपमा छ जना पक्राउ परेका छन्।
बाँकेको नेपालगञ्ज–१२ स्थित प्रितम अधिकारीको घरमा ब्रतवन्धको कार्यक्रमको निम्तो मान्न पुगेका खजुरा गाउँपालिका–६ का २२ वर्षीय विशाल चन्द ठकुरीको हत्या गरेको आरोपमा छ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–१ बस्ने १९ वर्षीय दीपेन्द्रराज गिरी, सोही स्थान निवासी २० वर्षीय बिबीएस कुँवर, सोही स्थानका १८ वर्षीय सुशील खत्री, सोही ठाउँका २० वर्षीय खकेन्द्र देवकोटा, कालीकोट पचालझरना–६ बस्ने १८ वर्षीय सन्तोष सन्ज्याल र सुर्खेतका २० वर्षीय रुपेश थापा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए । सो घटनामा संलग्नमध्ये चार जनालाई बर्दिया ठाकुरबाबा नगरपालिकाबाट र दुई जनालाई नेपालगञ्जबाट नै पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ।
डिएसपी पातलीका अनुसार , प्रहरीले घटनास्थालबाट एक थान चक्कु, सुपप्र ०१–०१४ प १२५६ नं को एनएस २०० मोटरसाइकल, सिसाका बोटल बरामद गरेको छ ।
नेपालगञ्ज–१२ स्थित प्रितम अधिकारीको घरमा ब्रतवन्धको निम्तो मान्न पुगेका विशाल चन्द ठकुरी कार्यक्रम रहेको, घरमा बस्ने ठाउँ नभएकाले छिमेकीको घरमा गएको र रमाइलो गर्ने क्रममा दीपेन्द्रराज गिरी र विशालचन्द ठकुरीबीचको विवादले उग्ररुप लिएपछि विशाल चन्द ठकुरीको हत्या भएको प्रहरीले बताएको छ ।
उनीहरुले विशालक चन्दलाई चक्कुलगायतका धारिलो हतियार प्रहार गरेको र कोठाबाट भाग्न खोज्दासमेत लखेट्दै फेरि धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते भएका ठकुरीको स्थानीय अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले घटनाको खबर प्राप्त गरेको दश घण्टामै घटनामा संलग्नहरुलाई पक्राउ गरेको थियो । घटना घटाउने बित्तिकै अभियुक्तहरू बर्दियातर्फ भागेका थिए । प्रहरीलाई झुक्याउन उनीहरुले ठाकुरद्वारा स्थित पाँचघण्टामा दुईटा होटेल बदलेका थिए। त्यसैगरी हायस गाडी चढ्दै मोटरसाइकल चढ्दै लम्कीदेखि अर्कै प्राइभेट कार मगाएर भागेका थिए । तर प्रहरी उनीहरुलाई पक्राउ गर्न सफल भएको छ ।