पोखरा , १८ बैशाख २०८३।
रोल्पाको थवाङ गाउँपालिका–१ मा भएको जिप दुर्घटनामा परेर मृत्यु भएका चार जनाको पहिचान भएको छ ।
बिहीबार रुकुमपुर्वबाट थवाङ गाउँपालिकास्थित जलजला जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा मृत्यु भएका २० जनामध्ये चार जनाको मात्र पहिचान खुलेको हो।
उक्त दुर्घटनामा १२ जना महिला, चार जना पुरुष र चार जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । तीमध्ये चारजनाको पहिचान खुलेको लुम्बिनी प्रदेशका डीआईजी भुपेन्द्र खत्रीले बताए ।
अहिलेसम्म घोराही नगरपालिका–१२ गुर्जे घर भएकी धनमाया विष्ट, घोराही–१५ रतपनुरका तिला जिसी, ठेगाना नखुलेका युवा बुढाथोकी र एसिला घर्तीको पहिचान खुलेको छ । आफन्तको सहयोगमा पहिचान खुलाउने प्रयास भइरहेको डीआईजी खत्रीले बताए ।
प्रहरीका अनुसार , दुर्घटनास्थलमा आज बिहानैदेखि थप खोज तथा उद्धार कार्य शुरु गरिएको छ । बिहीबार पानी परेकाले र रात परेपछि खोज तथा उद्धार स्थगित गरिएको थियो ।