पोखरा , १७ बैशाख २०८३।`
युवती बलात्कारपछि हत्या प्रकरणमा जन्मकैद सुनाइएका व्यक्ति नै अर्को हत्याकाण्डमा जोडिएको खुलेको छ ।
युवती बलात्कार–हत्या प्रकरणमा पक्राउ परेर जन्मकैदको सजाय भोग्दै आएका व्यक्ति जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेर अर्को हत्या गरेको पाइएको छ ।
कारागारबाट भागेर अर्को हत्या गरेको आरोपमा अहिले बाग्लुङको गल्कोट नगरपालिका–९ घर भएका ३१ वर्षीय सञ्जय विक पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चाबहिलबाट पक्राउ गरेको हो ।
५ मंसिर २०८० मा तनहुँको भिमाद घर भइ पोखरा बस्दै आएकी ३९ वर्षीया सुकु विकलाई सञ्जयले बलात्कारपछि हत्या गरेका थिए । सञ्जयले सुकुलाई पोखराको युनिक होटलको कोठा नम्बर २०२ मा लगि बलात्कार गरेको त्यसपछि हत्या गरेको घटनामा उनलाई जन्मकैदको फैसला सुनाइएको थियो ।
बलात्कारपछि हत्या गरेर फरार रहेका सञ्जयलाई १ साउन २०८१ मा प्रहरीले पक्राउ गरेको थियो । २६ जेठ २०८२ मा कास्की अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको थियो । त्यसयता उनी कास्की कारागारमा थिए ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रमाम उनी २४ भदौमा कास्की कारागारबाट फरार भएका थिए । त्यसपछि उनी गत २२ चैतमा भएको अर्को हत्यामा जोडिएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए । २२ चैत्मा पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१६ टाँडीकोटस्थित आफ्नै घरमा ७५ वर्षीइ जीवनराम थनेत र ७० वर्षीया गुलाब सिनिया चनेतलाई घरेलु हतियारले आक्रमण गरी गरगहना लुटिएको थियो । आक्रमणबाट गम्भीर घाइते भएका जीवनरामको उपचारको क्रममा मृत्यु भएको थियो ।
उक्त घटनामा समेत अहिले पक्राउ परेका सञ्जय जोडिएको पाइएको प्रहरीले बताएको छ । एउटा हत्यामा जेल परेर कारागारबाट भागेर अर्को हत्या गरेको पाइएपछि अहिले उनीमाथि अनुसन्धान गर्न नवलपरासी पठाइएको अपराध अनुसन्धान कार्यालयले बताएको छ ।