पोखरा , १६ बैशाख २०८३।
लागू औषधको कारोबारमा संलग्न रहेको आरोपमा पोखराबाट ठुलो मात्रामा लागू औषधसहित दुई जना पक्राउ परेका छन्।
पोखरा महानगरपालिका वडा नं. १५ बस्ने बर्ष ५५ को हेमकमल के.सी. र पोखरा म.न.पा. वडा नं.
२७ रिठ्ठेपानी बस्ने बर्ष २९ को भरत घिसिङलाई ठुलो मात्रामा लागू औषधसहित प्रहरीले पक्राउ गरेको हो।
पटक-पटक लागू औषधसहित पक्राउ पर्दै छुट्दै गर्ने गरेका हेमकमल के.सीलाई जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले पोखराको चोरसाँघुबाट पक्राउ गरेकोमा उनको घरकोठाबाट लागू औषध डाईजेपाम- ८७ एम्पुल, फेनारगन- ८७ एम्पुल, ब्रुफिनुर्फिन- ८७ एम्पुल गरी जम्मा दुई सय ६१ एम्पुल र लागू औषध गाँजा तीनसय ९० ग्रामसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। अभियुक्त केसीविरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पांच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले बताएको छ ।
यता पोखरा महानगरपालिका वडा नं. २७ तालचोकमा ग ७ प ७२४१ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा सवार पोखरा २७ रिठ्ठेपानी बस्ने बर्ष २९ को भरत घिसिङलाई लागू औषध डाईजेपाम- एकसय १५एम्पुल, फेनारगन- एकसय १५ एम्पुल, ब्रुफिनुर्फिन- एकसय १५ एम्पुल गरी जम्मा तीन सय ४५ एम्पुल, मोवाईल एक थान १ र नगद एक हजार रुपियाँसहित पक्राउ गरिएको प्रहरीले जिकिर गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्की, ईलाका प्रहरी कार्यालय शिशुवा र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको भनिएका घिसिङलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।