पोखरा , १५ बैशाख २०८३।
नवलपुरको कालिगण्डकी करिडोरमा ट्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्।
नवलपुरको खर्साङबाट भोलाडतर्फ जाँदै गरेको ग १ त ६८२७ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको ग २३ प २२३४ नम्बरको मोटरसाइकल बौदीकाली गाउँपालिका वडा नं. २ भोलाड चोकस्थित कालिगण्डकी करिडोरमा सोमबार साँझ करिब छ बजे एकआपसमा ठोक्किँदा छोराको मृत्यु भएको हो भने बुबा घाइते भएका छन्।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक बौदीकाली–३, बीपी चोक निवासी ३३ वर्षीय रमेश खनालको गण्डकी मेडिकल कलेज पोखरामा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
सोही दुर्घटनामा परेर उनका बुबा ६० वर्षीय पुष्पराज खनाल घाइते भएका छन्। उनको टाउको र खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले दुवै सवारी साधन नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक बौदीकाली–३ निवासी १९ वर्षीय बसन्त नेपालीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। Pic-AI