पोखरा , १५ बैशाख २०८३।
काठमाण्डौका विभिन्न स्थानहरुमा महिलाहरुको घांटीबाट सुनको सिक्री लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाण्डौको प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले तारकेश्वर नगरपालिका वडा नम्बर ४ पैँयुटारबाट काठमाण्डौका विभिन्न स्थानहरुमा महिलाहरुको घांटीबाट सुनको सिक्री लुट्ने गिरोहलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उक्त गिरोहमा संलग्न नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, नुवाकोटको विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बुका १९ वर्षीय रितिका माझी रहेका प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए। एसपी भट्टराईका अनुसार पक्राउ परेकाहरुबाट १२ दशमलव ९० ग्राम सुन, पेचकस एक थान, ठूलो रेन्ची एक थान, सानो रेन्ची आठ थान, मोबाइल एक थान, खुकुरी एक थान, हुडी, ट्राउजर, ज्याकेटलगायत सामग्री बरामद गरेको छ।
उक्त गिरोहलाई प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।
सो गिरोहले गत चैत १२ गते, १९ गते र वैशाख ६ गते विभिन्न ठाउँमा पुगेर सुन लुटपाटसम्बन्धी घटनाको अनुसन्धानका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।