पोखरा , १३ बैशाख २०८३।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन डीसीस्थित एक होटलमा पत्रकारहरुका लागि आयोजना गरेको ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनर कार्यक्रममा गोली चलेको छ।
शनिबार साँझ वासिङ्टन हिल्टन होटलको बैंक्वेट हलमा यो वार्षिक कार्यक्रम भइरहेको बेला अचानक केही चिज पड्किएको जस्तो ठूलो आवाज आएपछि सुरक्षाकर्मीहरूले राष्ट्रपतिलाई सुरक्षित स्थानतर्फ लगेका हुन्।

ट्रम्प बोलिरहेका बेला मानिसहरुको हलचल शुरु भएपछि उनी बोल्दाबोल्दै रोकिएका थिए । त्यसपछि केही पड्किएको आवाज सुनिएको थियो ।

घटनाको समयमा खिचिएको फुटेजमा ट्रम्प र अन्य सहभागीहरू टेबलमुनि लुकेको देखिन्छ। त्यतिबेला हलमा उपस्थित मानिसहरू तल बस्नुहोस्, तलै रहनुहोस् भन्दै चिच्याइरहेका थिए।
ठूलो आवाज सुनिएलगत्तै हतियारधारी सेक्रेट सर्भिस एजेन्टहरूले ट्रम्पलाई घेरेर तत्कालै त्यहाँबाट बाहिर निकालेका थिए। घटनापछि सुरक्षाकर्मीहरूले कार्यक्रम स्थललाई आफ्नो नियन्त्रणमा लिएका छन्।

घटनास्थलमा रहेका एक सुरक्षा अधिकारीका अनुसार त्यहाँ सात देखि आठ गोली चलाइएको थियो। सन्दिग्ध बन्दुकधारी मारिएको हो वा हिरासतमा लिइएको हो भन्ने बारेमा विवादास्पद रिपोर्टहरू आएका छन् । यद्यपि राष्ट्रपति ट्रम्पले केही समय अघि सामाजिक सञ्जालमार्फत बन्दुकधारी पक्राउ परेको उल्लेख गरेका छन् ।

बीबीसीका अमेरिकी साझेदार सञ्चारमाध्यम सीबीएसका अनुसार सिक्रेट सर्भिसले राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियालाई मञ्चबाट सुरक्षित स्थानमा लगेपछि काउन्टर असल्ट टिम (सीएटी)का हतियारधारी सुरक्षाकर्मीहरू मञ्चमा उभिएर कोठाको पछाडितर्फ लामो बन्दुक तेर्स्याएको देखिएको थियो ।

सीबीएसका अनुसार केही समयपछि सुरक्षाकर्मीहरूले अर्को एक अतिथिलाई पनि हतार हतार अर्को कोठातिर लगेका थिए । त्यसक्रममा उनीहरू टेबल र ढलेका खाली कुर्सीहरू नाघ्दै अघि बढेका थिए ।

