पोखरा , १३ बैशाख २०८३।
कपिलबस्तुमा भारतीय नम्बर प्लेट भएको स्कर्पियो गाडी रोकिराखेको ट्रकमा ठोक्किंदा दुईको जनाको मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन्।
कपिलबस्तुको बहादुरगंजबाट तौलिहवातर्फ आउदै गरेको युपी ३२ सिए ८३४३ नम्बरको स्कार्पियो शनिबार राति ९ बजेतिर हुलाकी सडकखण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका-१२ पिपराहवास्थित सडक किनारमा रोको राखेको लु १ ख ९५४९ नम्बरको ट्रकसंग ठोक्किदा दुई जनाको मृत्यु भएको हो भने अन्य तीन घाइते भएका हुन्।
दुर्घटनामा गम्भीर घाइते भएका महराजगंज नगरपालिका वडा-११ बनगाईका ५० बर्षिय राधेश्याम कुर्मी र शिवराज नगरपालिका-६ धरमनगरका ५५ बर्षिय चिन्नी कुर्मीको कपिलवस्तु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।
सोही दुर्घटनामा घाइते भएका महराजगंज नगरपालिका वडा नम्बर ११ बनगाईका ६५ बर्षिय नन्द प्रसाद दुबे, शिवराज नगरपालिका-१० लालपुरका २८ बर्षिय मोतिलाल कुर्मी र शिवराज नगरपालिका-११ का २० बर्षिय सुरेश कुर्मीको उपचार भइरहेको ढकालले बताए। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।