नेपालगञ्जमा उच्च अदालत बारका सदस्य खड्कामाथि हातपात

नेपालगञ्जमा उच्च अदालत बारका सदस्य खड्कामाथि हातपात


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १२ बैशाख २०८३
  • 912
    Shares

पोखरा , १२ बैशाख २०८३।

नेपालगञ्ज उच्च अदालत बार एशोसियशनका सदस्य अधिवक्ता दुर्गा कुमारी खड्कामाथि हातपात तथा दुर्व्यवहार भएको घटनाप्रति बार एशोसियशनले गम्भीर आपत्ति जनाएको छ।

बारका अनुसार वैशाख ११ गते दिउँसो करिब ४:०० बजे अधिवक्ता खड्का आफ्नो ल फर्म कार्यालयमा बसिरहेका बेला प्रतिवादी रुपक विश्वकर्माकी पत्नी शर्मिला विश्वकर्मा  र निजको साथमा आएका सर्मिला वाईवा भन्ने शर्मिला राई, ललिता थापा लगायत ७/८ जनाको समूह जबर्जस्ती कार्यालयभित्र प्रवेश गरेको थियो। उक्त समूहले कार्यालयमा रहेका पुस्तक तथा मुद्दासम्बन्धी फाइलहरू यत्रतत्र फ्याँक्नुका साथै ल्यापटप लगायतका सामग्रीमा क्षति पुर्‍याएको आरोप लगाइएको छ।

त्यसक्रममा अधिवक्ता खड्कामाथि अभद्र व्यवहार, अपशब्द प्रयोग र हातपात समेत गरिएको बारको विज्ञप्तिमा उल्लेख छ।

घटनाप्रति नेपालगञ्ज उच्च अदालत बार एशोसियशनले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पेशागत कर्तव्य निर्वाह गरिरहेका कानून व्यवसायीमाथि भएको यस्तो आक्रमण कदापि स्वीकार्य नहुने स्पष्ट पारेको छ।

बारले दोषीहरूलाई तत्काल कानूनको दायरामा ल्याई कडा कारबाही गर्न माग गर्दै अधिवक्ता खड्का लगायत सम्पूर्ण कानून व्यवसायीको जिउज्यान र सुरक्षाको प्रत्याभूति गर्न सरकार र प्रहरी प्रशासनसँग आग्रह गरेको छ।

उक्त घटना बारे पीड़ित अधिवक्ता दुर्गा कुमारी खड्काले जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएकी छिन ।

प्रतिक्रिया