पोखरा , १२ बैशाख २०८३।
पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका सार्वजनिक, ऐलानी र पर्ती जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका भौतिक संरचना हटाउन ३५ दिने सुचना जारी गरेको छ।
महानगरले एक सूचना जारी गर्दै पहुँचका आधारमा कब्जा गरिएका जग्गा खाली गर्न भन्दै ३५ दिने सुचना जारी गरेको हो ।
महानगर कार्यपालिकाको वैशाख ३ गतेको निर्णयानुसार यो सूचना जारी गरिएको महानगरपालिकाले जानकारी दिएको छ।
लामो समयदेखि सार्वजनिक जग्गा मिचेर विभिन्न व्यक्ति तथा संस्थाहरूले कार्यालय सञ्चालन गर्ने, भवन बनाएर भाडामा लगाउने र पर्खाल घेरेर निजी बनाउने गरेको जनगुनासो आएपछि महानगरले यस्तो कदम चालेको जनाएको छ ।
‘सार्वजनिक जग्गा संरक्षणमा ऐक्यवद्धता जनाई हालसम्म निर्माण भएका संरचना सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आफैं खाली गर्न वा हटाउन सूचित गरिन्छ,’ महानगरद्वारा ४ वैशाखमा जारी सूचनामा उल्लेख छ।
महानगरका अनुसार विभिन्न स्थानमा पहुँचका भरमा सार्वजनिक सम्पत्ति दोहन गरी व्यापारिक र संस्थागत संरचना बनाइएको तथ्य फेला परेको छ । तोकिएको समयसीमाभित्र संरचना नहटाए महानगर आफैंले कानुनी प्रक्रिया बमोजिम हटाउने र त्यसको खर्चसमेत सम्बन्धित पक्षबाटै असुल गर्ने संकेत गरेको छ ।
महानगरले सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षणका लागि सबै नगरवासीलाई सहयोग गर्न समेत आग्रह गरेको छ । पोखरामा पछिल्लो समय सार्वजनिक जग्गा र फेवाताललगायतका खोला किनारका मिचिएका क्षेत्र खाली गराउने अभियान चल्दै आएको छ ।