पोखरा, ११ बैशाख २०८३।
जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका तीन जना कैदी साढे आठ महिना पछि फेरि काठमाण्डौबाट पक्राउ परेका छन्।
फेरि पक्राउ परेका कैदीहरूमा लागुऔषध मुद्दाका कैदी दाङ गढवा गाउँपालिका–१ बस्ने ३६ वर्षीय विनोद कुमाल, कर्तव्य ज्यान तथा डाका चोरी मुद्दाका रामेछाप लिखु गाउँपालिका–५ धोबीका ३३ वर्षीय प्रेम तामाङ तथा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नुवाकोट पञ्चकन्या गाउँपालिका–९ का २९ वर्षीय नवराज थापा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भागेका उनीहरुलाई काठमाडौँको विभिन्न वडा एरियामा लुकीछिपी बस्दै गरेको अवसथामा पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले बताए ।
कुमाललाई अदालतले लागुऔषध मुद्दामा एक वर्ष तीन महिना कैद, तामाङ कर्तव्य ज्यान तथा डाका चोरीसम्बन्धी मुद्दामा २५ वर्ष कैद हुने ठहरी कैद भुक्तानका क्रममा रहेको र थापा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई बिहीबारै केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको प्रवक्ता कार्कीले बताए।