आफ्नै छोरालाई बोरामा प्याक गरी भारतीय अपहरणकारीलाई सुम्पने निष्ठुरी बाउ पक्राउ

आफ्नै छोरालाई बोरामा प्याक गरी भारतीय अपहरणकारीलाई सुम्पने निष्ठुरी बाउ पक्राउ


  • जन संचार
  • मंगलबार, ८ बैशाख २०८३
  • 418
    Shares

बिराटनगर ८ बैशाख २०८३ ।

मानवीय संवेदनालाई नै चुनौती दिने घट्ना सुनसरीमा घटेको छ।

भोक्राहा नरसिंह गाउँपालिका–८ का ५५ वर्षीय उमर मियाँले आफ्नै ३० वर्षीय छोरा सदरुल मियाँलाई भारतीय अपहरणकारीको जिम्मा लगाउने प्रयास गरेको खुलासा भएको छ।

प्राप्त जानकारी अनुसार, भुटाहाबाट तरकारी किनेर फर्किने क्रममा उमर मियाँले सुरसान पुल नजिकै आफ्नै छोरालाई अपहरणकारी समूहलाई सुम्पिएका थिए। स्रोतका अनुसार सदरुललाई प्रतिकार गर्न नसक्ने अवस्थामा पुर्‍याएर बोरामा हालेर भारततर्फ लैजाने तयारी गरिएको थियो।

आफ्नै सन्तानलाई स्वार्थका लागि अपहरणकारीको जिम्मा लगाउने यस घटनाले स्थानीय स्तरमा तीव्र आक्रोश उत्पन्न गरेको छ।

अपहरणकारीहरूले सदरुललाई बोरामा बाँधेर भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्लाको करजाना थाना क्षेत्रसम्म पुर्‍याएका थिए। तर भारतीय प्रहरीको सक्रियताका कारण उनलाई समयमै उद्धार गरिएको बताइएको छ। घटनाबारे भारतीय पक्षले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई जानकारी गराएको थियो।

प्रहरीका अनुसार यो घटना एक व्यक्तिको मात्र संलग्नतामा नभई संगठित रूपमा भएको हुनसक्ने आशंका गरिएको छ। घटनामा संलग्नताको आरोपमा बाबु उमर मियाँसहित आमा र अर्का एक भाइलाई समेत नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको छ।

आफ्नै छोरालाई अपहरणकारीको जिम्मा लगाउनुको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै थप अनुसन्धान भइरहेको र दोषीलाई कानुनअनुसार कडा कारबाही गरिने प्रहरीले बताएको छ।

प्रतिक्रिया