पोखराम ८ बैशाख २०८३।
‘सुरक्षित गर्भपतन सेवा’ लेखिएको बुटवलस्थित श्री ईन्दुलेखा स्वास्थ्य क्लिनिकमा गर्भपतन गर्न गएकी ३२ वर्षीया पाल्पाकी एक महिलाको गर्भपतन गराउने क्रममा मृत्यु भएको छ।
पाल्पाको बगनासकाली गाउँपालिका–२ की ३१ वर्षीया गीता पाण्डेको वैशाख ६ गते दिउँसो साढे ३ बजेतिर उक्त क्लिनिकमा गर्भपतन गर्ने क्रममा मृत्यु भएको हो । विभिन्न क्लिनिकमा गरिएको उपचारका क्रममा ३२ वर्षीया गीता पाण्डेको मृत्यु भए पछि उनका परिवारजनले डाक्टरहरुको लापरबाही भएको आरोप लगाएका छन् ।
प्राप्त जानकारी अनुसार , करिब १२ हप्ताको गर्भ अस्वस्थ भएको भन्दै चैत २७ र वैशाख ५ गते श्रीमानसहित बुटवल आएकी पाण्डे सुरुवातमा इट्टाभट्टीस्थित खत्री नर्सिङ होममा नियमित फलोअपसहित उपचारका लागि पुगेकी थिइन्। त्यहाँबाट थप उपचारका लागि उनलाई जोनल फार्मेसीमा रिफर गरिएको थियो।
जोनल फार्मेसीमा कार्यरत स्वास्थ्यकर्मीले गर्भपतन गराउन औषधि प्रयोग गरेका थिए। तर त्यहाँबाट पनि प्रक्रिया सफल नभएपछि उनलाई सोही क्षेत्रको इन्दुलेखा क्लिनिकमा लगिएको थियो। त्यहाँ समेत औषधि प्रयोग गरेर गर्भपतन गराउने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
लापरवाही मात्र होइन हत्या होः आफन्त
घटनापछि प्रकाश पाण्डेले यो लापरवाही मात्र नभई ‘हत्या’ भएको दाबी गरेका छन्। १२ हप्तापछि गर्भपतन जोखिमपूर्ण हुने थाहा हुँदाहुँदै पनि सम्बन्धित चिकित्सकहरूले उचित निर्णय नगरेको आफन्तहरुले बताएका छन्।
ईलाका प्रहरी कार्यालय बुटवल बाहिर पत्रकारहरुसँग कुराकानी गर्दै मृतकका आफन्त नारायण पन्थले स्वास्थ्य क्षेत्रमा लापरवाहीले ज्यान जान सक्ने भएकोले दोषीलाई कडा कारबाही गर्न माग गरे।
मृतकका आफन्त गोकुल पाण्डेले नियमित जाँच भइरहेकै ठाउँबाट रिफर गर्ने र क्लिनिकहरूले जिम्मेवारी नलिई असुरक्षित औषधि चलाउँदा अकालमा ज्यान गएको भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।
उपचारसँग सम्बन्धित कागजात र प्रमाण लुकाइएको तथा अप्रेसनअघि कुनै सहमति पत्रमा हस्ताक्षर नगराइएको मृतकका श्रीमान प्रकाशले बताए।
प्रकाशले घटनामा संलग्न रहेको भन्दै खत्री नर्सिङ होमका डा. डिबि खत्री, जोनल फार्मेसीरक्लिनिक सञ्चालक सन्ध्या बस्नेत, जोनल फार्मेसीका निलम घर्ती मगर, इन्दुलेखा स्वास्थ्य क्लिनिक सञ्चालक खगेन्द्र प्रसाद पाण्डे र इन्दुलेखा स्वास्थ्य क्लिनिकरहस्पिटलका डा. सतीश रुपाखेतीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्।
‘हाम्रो सानो छोराले न्याय पाओस् भनेर यो लडाइँ लडिरहेको छु,’ उनले भने। साथै, दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने र सम्बन्धित स्वास्थ्य संस्थाहरूमा तालाबन्दी गर्ने चेतावनी पनि दिएका छन्।
डा डिबि खत्री भने घटना बाहिरिएपछि प्रहरीकोमा पुगेपनि उनलाई पक्राउ नगरिएको भन्दै आफन्तले आक्रोश पोखेका थिए।
तीन जना पक्राउ
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार घटनामा संलग्न रहेको आरोपमा जोनल हेल्थ क्लिनिककी सन्ध्या बस्नेत, जोनल फार्मेसी क्लिनिककी निलम घर्तीमगर र इन्दुलेखा क्लिनिकका खगेन्द्र पाण्डेलाई पक्राउ गरिएको छ।
प्रहरीले जाहेरी परेका अन्य दुई जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्ने तयारी गरिरहेको छ।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा अनुमतिबिना वा लापरबाहीपूर्ण ढंगले उपचार गर्ने क्लिनिकहरूमाथि प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले शवको पोस्टमार्टम र पक्राउ परेकाहरूको बयानका आधारमा थप कानुनी प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ।

