सिन्धुलीस्थित खुर्कोट प्रहरी चौकीको हिरासतमा अन्तरजातीय बिबाह गरेका युवाको मृत्यु

सिन्धुलीस्थित खुर्कोट प्रहरी चौकीको हिरासतमा अन्तरजातीय बिबाह गरेका युवाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ बैशाख २०८३
  • 1.6K
    Shares

इलाका प्रहरी कार्यालय खुर्कोट

पोखराम ८ बैशाख २०८३।

सिन्धुली जिल्लाको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा एक थुनुवा मृत भेटिएका छन्।

वैशाख ३ गतेदेखि इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका थुनुवा सुनकोशी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विक सोमवारर साँझ मृत भेटिएका हुन्।

उनी थुनुवा कक्षको भेन्टिलेसनमा सर्टको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ। घटनाका बेला थुनुवा कक्षमा विक एक्लै रहेको प्रहरीको दाबी छ । साँझ करिब ६ बजेतिर उनले आत्महत्याको प्रयास गरेको थाहा पाएपछि तत्काल उद्धार गरी सुनकोशी सामुदायिक अस्पताल लगिएकोमा त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि सिन्धुली अस्पताल पठाइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

खोटाङ निवासी एक १७ वर्षीया युवतीसँग गत चैत २८ गते प्रेम विवाह गरेका विक काठमाडौंमा सवारी चालकको रूपमा कार्यरत थिए । उक्त विवाहपछि युवती नाबालिका रहेको दाबी गर्दै परिवारले जबरजस्ती करणीको आरोपमा काठमाडौं प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा विकलाई काठमाडौंमा पक्राउ गरी पछि खुर्कोट प्रहरीको जिम्मा लगाइएको थियो, जहाँ उनलाई हिरासतमा राखिएको थियो ।

तर मृतकका परिवारले घटनालाई आत्महत्या मात्र मान्न अस्वीकार गरेका छन् । उनीहरूले अन्तरजातीय विवाहप्रतिको सामाजिक असहिष्णुता र गलत आरोपका कारण विकमाथि अन्याय भएको दाबी गरेका छन् । परिवारजनका अनुसार, युवती नाबालिका भएको बहानामा मुद्दा दर्ता गरिए पनि वास्तविक कारण अन्तरजातीय विवाह नै रहेको उनीहरूको आरोप छ । साथै प्रहरीको लापरबाहीले पनि घटनालाई गम्भीर बनाएको उनीहरूको भनाइ छ ।

घटनापछि मृतकका आफन्त तथा स्थानीयवासी इलाका प्रहरी कार्यालय खुर्कोटमा भेला भएका छन् । उनीहरूले घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न माग गरेका छन् । हिरासतमा रहेका व्यक्तिको सुरक्षाको जिम्मेवारी राज्यको हुने भएकाले यस प्रकारको मृत्युले सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठाएको छ ।

मानव अधिकारसम्बन्धी संवेदनशील विषय भएकाले हिरासतभित्र हुने प्रत्येक घटनामा उच्च सतर्कता अपनाउनुपर्ने सरोकारवालाहरू बताउँछन् । यस्ता घटनाले प्रहरी प्रणालीप्रति जनविश्वास कमजोर पार्ने खतरा पनि देखिएको छ ।

यसबीच प्रहरीले भने प्रारम्भिक रूपमा घटनालाई आत्महत्याको रूपमा प्रस्तुत गरेको छ र विस्तृत अनुसन्धान भइरहेको जनाएको छ । शव हाल सिन्धुली अस्पतालमा राखिएको छ र पोस्टमार्टम रिपोर्टपछि घटनाको थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

यो घटनाले अन्तरजातीय विवाहप्रति समाजमा अझै विद्यमान पूर्वाग्रह, कानुनी प्रक्रियाको प्रयोग र प्रहरी हिरासतको सुरक्षा व्यवस्थाबारे पुनः बहस आवश्यक रहेको संकेत दिएको छ। निष्पक्ष अनुसन्धानमार्फत सत्यतथ्य सार्वजनिक गर्नु अहिलेको प्रमुख आवश्यकता बनेको छ ।

प्रतिक्रिया