रोशी नदीमा आएको बाढीले बीपी राजमार्ग पुनः ठप्प

रोशी नदीमा आएको बाढीले बीपी राजमार्ग पुनः ठप्प


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ बैशाख २०८३
  • 1.4K
    Shares

पोखरा , ६ बैशाख २०८३।

गएराति परेको वर्षाकाकारण रोशी नदीमा आएको बाढीले सडक संरचना क्षतिग्रस्त बनाउँदा बीपी राजमार्ग पुनः अवरुद्ध भएको छ ।

बाढीका कारण विभिन्न स्थानमा बनाइएका डाइभर्सन बग्दा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीका अनुसार कटुन्जे, मङ्गलटार, घुमाउने लगायतका संवेदनशील खण्डहरूमा रहेका अस्थायी डाइभर्सनहरू बग्दा रातिदेखिनै यातायात सेवा ठप्प भएको हो।

सडक मर्मत तथा पुनः सञ्चालनका लागि आवश्यक प्राविधिक काम सुरु गरिने भए पनि पूर्ण रूपमा यातायात सुचारु हुन समय लाग्ने अनुमान गरिएको छ ।

यस अवस्थालाई ध्यानमा राख्दै प्रहरीले सर्वसाधारणलाई यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ ।

आकस्मिक सूचना तथा विवरणका लागि १०० र १०३ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ । अवरोधका कारण यात्रुहरू बीच बाटोमै अलपत्र पर्ने तथा वैकल्पिक मार्ग खोज्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

बीपी राजमार्गमा सामान्य वर्षा हुँदा पनि पटक–पटक अवरोध हुने समस्या विगतदेखि दोहोरिँदै आएको छ । कमजोर संरचना, अस्थायी डाइभर्सनमा निर्भरता तथा पर्याप्त दीर्घकालीन समाधानको अभावले यात्रुहरू निरन्तर सास्ती भोग्दै आएका छन्। करिब दुई साताअघि पनि वर्षापछि यसै राजमार्गमा पटक–पटक अवरोध सिर्जना भएको थियो।

सरकार र सम्बन्धित निकायले दीर्घकालीन तथा सुरक्षित पूर्वाधार निर्माणमा ध्यान नदिँदा समस्या जटिल बन्दै गएको स्थानीयको गुनासो छ । यातायात सहज र सुरक्षित बनाउन स्थायी समाधानको आवश्यकता झन् टड्कारो बनेको सरोकारवालाहरूले औंल्याएका छन् ।

प्रतिक्रिया