पोखरा, ५ बैशाख २०८३ ।
महोत्तरीको जलेश्वरमा हावाहुरीकाकारण ढलेको रुखले ट्याम्पु च्यापिदा दुई जना यात्रीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन।
हावाहुरीकाकारण ढलेको रुखले रुखले महोत्तरीको जलेश्वरबाट जनकपुरतर्फ आइरहेको ज १ ह ४८५० नम्बरको ट्याम्पु शनिबार साँझ जलेश्वर नगरपालिका–९ प्रकौलीस्थित नेपाली सेनाको ब्यारेक नजिकै च्यापिंदा दुई जनाको मृत्यु भएको हो भने तीन जना घाइते भएका छन्।
र्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका–२० बस्ने अन्दाजी ४१ वर्षीया सकुन्तला देवी र महोत्तरीको एकडारा गाउँपालिका–३ बस्ने तपेश्वर मलिकका ३३ वर्षीय छोरा राहुल मलिकको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनाको शव प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ।
घाइतेमध्ये टेम्पु चालक महोत्तरी जलेश्वर नगरपालिका–११ बस्ने अन्दाजी ५२ वर्षीय हरेन्द्र ठाकुरको अवस्था गम्भीर रहेको छ। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। त्यसैगरी, महोत्तरी एकडारा गाउँपालिका–३ बस्ने ४३ वर्षीया फेकनी देवी मलिकलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर रिफर गरिएको छ र उनको अवस्था पनि गम्भीर रहेको छ।
यसैगरी, धनुषाको जनकपुर उपमहानगरपालिका–१२ बस्ने १७ वर्षीय धिरज मलिकको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ र उनको अवस्था मध्यम रहेको छ। अर्की घाइते १४ वर्षीया रिया पण्डितको पनि सोही अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
सडक किनारमा रहेको रुख एक्कासी ढल्दा गुडिरहेको टेम्पुमाथि खसेर दुर्घटना भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। घटनापछि स्थानीयवासी, प्रहरी र नेपाली सेनाको टोलीले संयुक्त रूपमा उद्धार गरेका थिए।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। साथै, स्थानीयवासीले सडक छेउका जोखिमपूर्ण रुखहरूको व्यवस्थापनमा लापरवाही हुँदा यस्ता घटना दोहोरिने गरेको गुनासो गरेका छन्।