पोखरा, ५ बैशाख २०८३ ।
स्ट्रेट अफ हर्मुजमा भारतीय जहाजमाथि इरानी सेनाको गोलीबारी: भारतद्वारा कडा आपत्ति प्रकट !
सामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज स्ट्रेटमा भारतीय झण्डावाहक दुई जहाजमाथि इरानी सेनाले गोलीबारी गरेको घटनाप्रति भारतले कडा विरोध जनाएको छ। शनिबार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले भारतीय कार्गो जहाज ‘जग अर्णव’ र तेल ट्याङ्कर ‘सनमार हेराल्ड’ लाई आफ्नो निर्धारित मार्ग परिवर्तन गर्न बाध्य पारेको थियो।
जहाजहरूको आवागमन निगरानी गर्ने ‘ट्याङ्कर ट्रयाकर्स’ का अनुसार, च्यानल १६ को अडियो रेकर्डिङले इरानी नौसेनाले ती जहाजहरूलाई पछाडि हट्न दबाब दिने क्रममा गोलीबारी समेत गरेको पुष्टि गरेको छ। मरिन ट्र्याकिङ डेटाका अनुसार लार्क टापु पार गरेपछि ती जहाजहरूलाई इरानी सेनाले अवरोध पुऱ्याएपछि यु-टर्न लिएर फर्कन बाध्य भएका थिए।
यस गम्भीर घटनालाई लिएर भारत सरकारले नयाँ दिल्लीस्थित इरानी राजदूतलाई आफ्नो कडा आपत्ति र गम्भीर चिन्ता दर्ज गराएको छ। अन्तर्राष्ट्रिय जलक्षेत्रमा स्वतन्त्र आवागमनको अधिकार उल्लंघन भएको भन्दै भारतले आफ्ना जहाज र चालक दलको सुरक्षा सुनिश्चित गर्न इरानको ध्यानाकर्षण गराएको छ। यो घटनाले मध्यपूर्वको समुद्री मार्गमा बढ्दो तनावलाई थप जटिल बनाएको छ।