पोखरा, २९ चैत २०८२।
इरान र अमेरिकाबीच पाकिस्तानको राजधानी इस्लामाबादमा भएको ऐतिहासिक शान्ति वार्ता विफल भएको छ। झन्डै २१ घण्टासम्म चलेको सघन र तनावपूर्ण छलफलपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्तामा तत्काल कुनै सहमति हुन नसकेको घोषणा गरेका हुन्। उनले अब अमेरिकी टोली पाकिस्तानबाट फिर्ता हुन लागेको समेत बताए ।
इस्लामाबादमा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपराष्ट्रपति भान्सले अमेरिकाले निकै लचकता देखाएपनि पनि इरानी पक्ष आफ्ना सर्तहरूमा सहमत हुन नसकेको दाबी गरे। उनले भने, ‘हामीले इरानसँग धेरै महत्त्वपूर्ण विषयमा छलफल गर्यौं। हामी निकै लचिलो र सहयोगी बनेका थियौँ, तर इरानी पक्ष हाम्रा सर्तहरू स्वीकार गर्न तयार देखिएन।’
भान्सले इरानको परमाणु कार्यक्रमलाई पूर्ण रूपमा नियन्त्रण गर्नु राष्ट्रपति ट्रम्पको प्रशासनको मुख्य लक्ष्य रहेको स्पष्ट पारे। उनले इरानको परमाणु कार्यक्रम नष्ट भइसकेको दाबी गर्दै अब भविष्यमा इरानले परमाणु हतियार निर्माण नगर्ने र त्यसका लागि आवश्यक औजारहरू समेत नखोज्ने दृढ इच्छाशक्ति देखाउनुपर्नेमा जोड दिए। अमेरिकाले यसलाई आफ्नो अन्तिम सीमा भनेको छ। भान्सका अनुसार, अहिले सहमति नभएपनि अमेरिकाले इरानसमक्ष आफ्नो अन्तिम र उत्कृष्ट प्रस्ताव पेस गरेको छ । अब सो प्रस्तावबारे आफूहरु इरानको निर्णयको प्रतीक्षामा रहेको उनको भनाइ थियो ।
उता इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सामाजिक सञ्जालमार्फत गहन वार्ता भएको बताएका छन् । तर वार्ताको सफलता विपक्षी पक्षको गम्भीरता र इमानदारीमा भर पर्ने उनको टिप्पणी छ । इरानले वासिङ्टनलाई अत्यधिक मागहरू र गैरकानूनी अनुरोधहरूबाट पछि हट्न र इरानको वैध अधिकार र हितलाई स्वीकार गर्न आग्रह गरेको छ।
तेहरानका अनुसार वार्ताका क्रममा हर्मुज जलडमरू, परमाणु कार्यक्रम र इरानमा जारी युद्धको पूर्ण अन्त्यका विषयमा छलफल भएको थियो।
वार्ताको मध्यस्थता गरेकोमा उपराष्ट्रपति भेन्सले पाकिस्तानका प्रधानमन्त्री र फिल्ड मार्शल मुनिरलाई विशेष धन्यवाद दिएका छन्। वार्ता सफल हुन नसक्नुमा पाकिस्तानको कुनै कमजोरी नरहेको र पाकिस्तानी पक्षले उत्कृष्ट समन्वय गरेको उनले बताए।
दुई देशबीचको दशकौँ लामो तनाव कम गर्ने उद्देश्यले आयोजना गरिएको यो वार्ता बिना निष्कर्ष टुङ्गिएसँगै अब क्षेत्रीय सुरक्षा र कुटनीति कुन दिशामा जान्छ भन्ने चासो बढेको छ।