लेबनानमाथि इजरायली आक्रमणले इरान र संयुक्त राज्य अमेरिका बीच भएको युद्धबिरामको औचित्यमाथि नै प्रश्न

लेबनानमाथि इजरायली आक्रमणले इरान र संयुक्त राज्य अमेरिका बीच भएको युद्धबिरामको औचित्यमाथि नै प्रश्न


  • एजेन्सीहरु
  • बिहिबार, २६ चैत्र २०८२
  • 2.3K
    Shares

पोखरा , २६ चैत २०८२।

इरान र संयुक्त राज्य अमेरिका बीच भएको १४ दिन लामो युद्धबिराम अनिश्चित जस्तै देखिएको छ। युद्धविराम घोषणा गरिए पनि बुधबार इजरायली सैन्य विमानहरूले लेबनानका विभिन्न क्षेत्रमा बमबारी गरेर दुईसय ५४ जनाको ज्यान लिए पछि उक्त युद्धविरामको औचित्य माथि प्रश्न उठ्न थालेको छ।

युद्धबिरामका बाबजुद लेबनानमा इजरायलले भिषण एबम घातक आक्रमण गरेपछि इरान आक्रोशित बनेको छ। उसले खोल्ने न्भनिएको होर्मुज जलमार्ग फेरी बन्द गरिएको बताएको छ भने यो आक्रमणपछि इरानले अमेरिकासँग हुने भनिएको स्थायी शान्ति सम्झौताको वार्तामा सहभागी हुनु ‘औचित्यहीन’ हुने चेतावनी दिएको छ।

इरानी संसदका सभामुख तथा मुख्य वार्ताकार मोहम्मद बगेर कलिबाफले इजरायलले युद्धविरामका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाएका छन्। उनका अनुसार एकातिर इजरायलले हिजबुल्लाहमाथि समान्तर युद्ध चर्काइरहेको छ भने अर्कोतिर अमेरिकाले इरानलाई आफ्नो आणविक महत्त्वाकाङ्क्षा त्याग्न दबाब दिएर सम्झौताको मर्मविपरीत काम गरिरहेको छ। यस्तो परिस्थितिमा यसै हप्ताको अन्त्यदेखि सुरु हुने भनिएको शान्ति वार्ताको भविष्य अन्योलमा परेको छ।

युद्धविरामको दायरालाई लिएर अमेरिका, इजरायल र इरानबिच स्पष्ट मतभेद देखिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले दुई हप्ते युद्धविराम लेबनानको हकमा लागू नहुने स्पष्ट पारेका छन्। 

भान्सले इरानी पक्षले युद्धविराममा लेबनान पनि समेटिएको भनी गलत बुझाइ राखेको टिप्पणी गरेका छन्। यता फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँसहित १३ युरोपेली राष्ट्र, जापान र क्यानडाले भने इजरायली आक्रमणको भर्त्सना गर्दै लेबनानलाई पनि युद्धविराममा समेट्नुपर्ने माग गरेका छन्।

यसैबीच संयुक्त राष्ट्रसंघका शीर्ष मानवीय सहायता समन्वयक इमरान रिजाले सर्वसाधारणमाथि हिंसाको गम्भीर प्रभाव परेको भन्दै तत्काल तनाव र टकराव अन्त्य गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘यो समय बाँकी रहेका मुद्दामा वार्ता गर्ने, मतभेद समाधान गर्ने, स्थायी युद्धविरामतर्फ अघि बढ्ने र हिंसात्मक द्वन्द्वको दीर्घकालीन समाधान खोज्ने हो ।’

उनले अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण सम्मान गर्न, सर्वसाधारण, नागरिक संरचना र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न, तथा मानवीय सहायता मार्ग खुला राख्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया