म्यानचेस्टर युनाइटेडले फाइनलमा बुधबार आयक्सलाई २-०ले पन्छाउँदै युरोपा लिगको उपाधि जितेको छ । यससँगै युनाइटेड युरोपेली च्याम्पियन्स लिगको लागि पनि छनौट भयो ।
पल पोग्बाले १८औं मिनेटमा युनाइटेडलाई अग्रता दिलाएका थिए । हेनरिक माखितरियनले ४८औं मिनेटमा युनाइटेडको जित निश्चित गरेका थिए । युनाइटेडले यस सफलता म्यानचेस्टर एरिनामा सोमबार आतंकवादी आक्रमणबाट मारिएका २२ मानिसप्रति समर्पित गरेको छ । ‘मृत्यु भएका मानिसहरुको लागि हामीले खेलेका हौं,’ पोग्बाले भने, ‘लन्डन र पेरिसमा भएको घटनाले विश्वलाई निक्कै डरलाग्दो बनायो । हामी जित्नको लागि केन्द्रित थियौं र म्यानचेस्टर र देशको लागि जितेका छौं ।’
‘हामीले सक्छौं भने यस उपाधिले तत्कालै मानिसहरुको जीवनशैली परिवर्तन गर्नसक्छौं,’युनाइटेडका व्यवस्थापक जोसे मोउरिन्होले भने, ‘हामीले आफ्नो काममात्र गरेको भए पनि यो उपाधिले म्यानचेस्टर सहरलाई केही खुसी पक्कै दिएको हुनुपर्छ ।’
प्रिमियर लिगमा छैटौंमा रहेको युनाइटेडले मोउरिन्होको पहिलो सिजनमा एफए कपको उपाधि जितिसकेको छ । युरोपा लिगको सफलतासँगै अर्को सिजन च्याम्पियन्स लिगमा फर्कने पनि निश्चित भयो ।
च्याम्पियन्स लिग र युरोपा लिग च्याम्पियन बन्ने युनाइटेड पाँचौं क्लब हो । मोउरिन्हो पनि युरोपका चारै फाइनल जित्ने प्रशिक्षक बने । आयक्स भने सुन् १९९६ को च्याम्पियन्स लिगयता पहिलोपल्ट महादेसीय प्रतियोगिता जित्ने अवसरमा चुक्यो ।